मधेशलाइभका सल्लाहकार यादव जनसेवाश्री पदकबाट विभूषित

राजविराज, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले मधेशलाइभका सल्लाहकार एवं आम सञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादवसहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन् ।

शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनीसहितका महानुभावलाई अलङ्कार र पदकबाट सुशोभन गरेकी हुन् । दुई दशकभन्दा बढी समयदेखि सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर सक्रिय पत्रकारितामा रहेका यादव जनसेवाश्री पञ्चमबाट विभूषित भएका हुन् ।

यसैगरी महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व मदनमणि दीक्षित, पूर्वमन्त्री स्व रवीन्द्रप्रसाद अधिकारी, सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा लगायत छन् । सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट चिकित्सक डा सन्दुक रुइत, प्रसिद्ध प्रबल जनसेवाश्री (द्धितीय) बाट सर्वाेच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे लगायत छन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । विभूषित हुनेहरुको सूची गृहमन्त्रालयको वेबसाइटमा समावेश गरिएको छ । गत वर्ष विभूषण समितको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्धितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्धितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २००, जनसेवाश्री प्रथमबाट ११०, अलङ्कारतर्फ १५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि ४५० लाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण सुशोभन हुन नसकेकालाई पनि शुक्रवारै सुशोभन गरिएको छ । आज बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गरिनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस