क्लासवर्क नगरेको भन्दै शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट

सिरहाको मिर्चैया-६ मा अवस्थित सगरमाथा उमाविमा विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ ।

गत मंगलबार विद्यालयका शिक्षक दिनेशचन्द्र ठाकुर (डीटी) ले विद्यार्थी कर्जन्हा-११ का शेखर महतोलाई कुटपिट गरेका हुन् । शिक्षकको कुटाइबाट कक्षा-७ मा अध्ययनरत १४ वर्षीय शेखरको तिघ्रामा नीलडाम बसेको छ ।

शिक्षक यादवले क्लासवर्क समयमै नगरेको भन्दै आफूमाथि कुटपिट गरेको शेखरले बताए । ‘सरले क्लासवर्क दिनुभयो, मैले लगभग सकाइसकेको थिएँ,’ उनले भने, ‘सरले फेरि बीचमै अर्को प्रश्न दिनुभयो, त्यस कारण मैले पहिलेको वर्क गर्न बाँकी नै रह्यो, त्यसपछि सरले पहिलेको वर्क किन गरेनौँ भन्दै कुट्न थाल्नुभयो ।’

शिक्षक ठाकुरले आफूलाई लट्ठीले १७-१८ पटक हानेर ९० पटक कान समातेर उठबस गर्न लगाएको र अन्य विद्यार्थीलाई पनि कुटपिट गरेको शेखरले सुनाए । कुटपिटबारे जानकारी परिवारजनले बिहीबार मात्रै पाएका छन् ।

अचानक ज्वरो आएको र हिँड्न पनि अप्ठ्यारो भएको देखेपछि सोध्दा छोरोले आफूलाई शिक्षकले कुटेको बताएको घाइते विद्यार्थीका बाबु भरत महतोले बताए । आफूले छोरोलाई पढ्न पठाएको तर यसरी नीलडाम हुने गरी कुटेको देख्दा दु:ख लागेको उनले बताए ।
‘मेरो छोरो पढाइमा पनि राम्रै थियो, बानी बेहोरा पनि राम्रै छ,’ उनले मधेश लाईभ सँग भने, ‘मैले त छोरोलाई पढ्न पठाएको हो, तर नीलडाम बोकेर घर फर्कंदा मन दुख्यो ।’ पीडित विद्यार्थीका परिवारले घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्न मागसमेत गरेको छ ।

यता, विद्यालयका सञ्चालक प्रदीप तिवारीले विद्यार्थीमाथि कुटपिट भएको कुरा अस्वीकार गरे । उनले विद्यार्थीलाई हप्काएको हुन सक्ने तर, कुटपिट नभएको बताए । कुटपिट गरेको भनिएको शिक्षकलाई आफूले बोलाएर घटनाबारे बुझ्ने पनि उनले बताए ।

विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई कारबाहीको कानुनी व्यवस्था छ । तर, विद्यार्थीमाथि यस्ता कुटपिटका घटनाहरू रोकिएको छैन ।

Author:



क्याटोगरी छान्‍नुहोस