नगर प्रमुख घुसकाण्डमा निलम्बित, कार्यवाहक प्रमुखले पनि अनियमितता गरेको वडाध्यक्षको आरोप

विनय यादव

लहान । सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख सूर्यनाथ मण्डल घुसकाण्डमा मुछिएर निलम्बनमा परेका छन् । मण्डलका छोरा सनतकुमार मण्डललाई ३१ असार २०७७ मा पाँच लाख घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो । त्यसमा नगरप्रमुख मण्डलको पनि संलग्नता देखिएपछि मण्डलविरुद्ध मुद्दा चलेको छ ।

मण्डल निलम्बनमा परेपछि उपप्रमुख रोहिणी कुमारी यादवले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

तर, कार्यवाहक प्रमुख यादवले पनि अनियमितता गरेको भन्दै ८ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यले नगरपालिकामा तालबन्दी गरेका छन् । नगरपालिकाको कार्यालयमा ३० चैतमा जनप्रतिनिधिले नै तालाबन्दी गरेका हुन् ।

नगरपालिकामा व्यापक अनियमिमता भएकोले तालाबन्दी गर्नु परेको तालाबन्दी गर्नेहरूको भनाइ छ । ११ बुँदे माग राख्दै नगरपालिकाका २१ जना कार्यपालिका सदस्यमध्ये ८ वडाध्यक्ष र ८ कार्यपालिका सदस्य गरी १६ जनाले तालाबन्दी गरेका हुन् ।

बृद्ध भत्ता, ज्येष्ठ नागरिक, अपांगता, बालपोषण भत्ता अविलम्ब वितरण गर्नुपर्ने, नगरपालिकाले गरेका ठेक्कापट्टा अपारदर्शी भएकाले बदर गरी नगर कार्यपालिकाको निर्णयअनुसार गर्नुपर्ने, नगरस्तरीय योजना संशोधन गर्नुपर्ने, नगर योजना कार्यपालिकाको बैठकबाट सञ्चालन गर्नुपर्ने, कार्यपालिका बैठकबाट निर्णय भएर कार्यान्वयन भइसकेको योजनाको भुक्तानी गर्नुपर्ने माग उनीहरूको छ ।

कार्यपालिकाको निर्णयबिना शिक्षा र स्वास्थ्यमा कर्मचारी भर्ना गरेको, आर्थिक अनियमितता गरी पोखरी ठेक्का, हाटबजार, नदीनाला, ठेक्का लगाएको, नगरस्तरीय योजनाहरूको उपभोक्ता समिति गठन गर्दा सम्बन्धित वडाध्यक्षलाई जानकारी नगराएकाले रोक्का गर्नुपर्ने र नगर क्षेत्रमा शिक्षाको गुणस्तर खस्किँदै गएकाले छानबिन समिति गठन गर्नुपर्नेलगायतका माग पनि उनीहरूले राखेका छन् ।

नगरपालिकामा तालाबन्दी भएको १० दिन भइसक्यो । तालाबन्दीका कारण कार्यालयको कामकाज प्रभावित भएको छ । विकास निर्माणका काम ठप्प छन् ।

कार्यवाहक नगर प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा वडाध्यक्ष र कार्यपालिका सदस्यबीचको असमझदारीका कारण तालाबन्दी भएको हो ।

जनप्रतिनिधिले नै तालाबन्दी गरेपछि आफूहरू समस्यामा परेको सेवाग्राहीको गुनासो छ । नगरपालिकामा भेटिएका कल्याणपुर–१० का प्रमोद यादवले भने, ‘जनप्रतिनिधि नै किन आन्दोलित भए ? जनतालाई दुःख दिनु ठीक होइन ।’

कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासको कार्यशैलीका कारण कार्यालयमा तालाबन्दी गर्नु परेको आन्दोलित जनप्रतिनिधिको आरोप छ ।

‘एकलौटी ढंगले कार्यवाहक नगरप्रमुखले अपारदर्शी निर्णय गर्ने गरेकाले बाध्य भएर कार्यालयमा तालाबन्दी गरेका हौँ,’ वडा नं. ३ का अध्यक्ष अशोक मण्डलले भने, ‘नगरप्रमुखले हामीलाई केही जानकारी दिनुहुन्न, आफूखुसी अधिकृतसँग मिलेमतोमा निर्णय गरेर अनियमिमता गरेपछि तालाबन्दी गर्‍यौँ ।’

कार्यवाहक प्रमुख र प्रशासकीय अधिकृतले ताला खुलाउन पहल नगरेको वडा नं. ५ का अध्यक्ष दीपेन्द्र यादव बताउँछन् । ‘ताला खुलाउन कुनै पहल भइरहेको छैन, हामीलाई नै दिक्क लागिसक्यो,’ उनले भने, ‘ताला नखुल्दा सबै कामकाज ठप्प छ, यसले नगरलाई घाटा भइरहेको भन्ने कुरा उहाँहरूले बुझ्नुपर्ने हो ।’ अनियमितताको पोल खुल्ने डरले नगरप्रमुख र प्रशासकीय अधिकृत अगाडि आउन नचाहेको उनले बताए ।

ताला नखुल्दा जनताले गुनासो गर्न थालेको वडा नं. १ का अध्यक्ष जयराम कामतिले बताए । ‘चालू आर्थिक वर्षमा हालसम्म सामाजिक सुरक्षा, बालपोषण लगायतका भुक्तानी हुन सकेको छैन, स्थानीयले पटक-पटक वडा कार्यालयमा गई विभिन्न किसिमको आरोप लगाउँछन्,’ उनले भने, ‘वडा कार्यालय सञ्चालन गर्नसमेत कठिनाइ हुन थालेपछि तालाबन्दी गर्‍यौँ । तर ताला खुलाउन हालसम्म पहल भएको नदेख्दा जनताले हामीलाई गुनासो गर्न थालेका छन् ।’

कार्य वाहक नगरप्रमुख यादव भने तालाबन्दी खुलाउन प्रयासरत रहेको दावी गर्छिन् । ‘तालाबन्दी गर्न जरुरी नै थिएन, संवादबाट समस्या समाधान हुनसक्थ्यो,’ यादवले भनिन्, ‘तर कुनै जानकारी नै नदिई अचानक तालाबन्दी गरियो । तालाबन्दी खुलाउन हामी प्रयाररत छौँ, तर सहमति जुट्न सकिरहेको छैन ।’

बहुमतको आडमा आफूमाथि राजनीतिक रूपमा प्रहार गर्न खोजिएको यादवको भनाइ छ । नगरपालिकालाई बदनाम गराउन केही जनप्रतिनिधि लागीपरेको उनको आरोप छ ।

Author:



क्याटोगरी छान्‍नुहोस