सिडिओ कार्यालय सप्तरीमै छैन सामाजिक दूरी !

राजविराज, १२ वैशाख । बढ्दो कोरोना भाइरसको संक्रमण रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले १५ बुँदे निर्णय गरे । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को गत सोमवार (वैशाख ७ गते) बसेको बैठकबाट भएको १५ बुँदे निर्णय सार्वजनिक गर्दै कडा रुपमा कार्यान्वयन गर्न/गराउन प्रशासनले निर्देशन पनि गरे ।

कोरोना रोकथाम गर्न सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समिक्षा, बैठक, तालिम गर्न रोक लगाए भने मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, वर्तबन्ध, धार्मिक अनुष्ठान, मलामीसहितका कार्यमा पनि २५ जनाभन्दा बढी भीडभाड नगर्न र सरकारी स्वास्थ्य मापदण्डको पालना गर्न/गराउन निर्देशन जारी गरे । तर, ती निर्णय कार्यान्वयन गराउने मुख्य जिम्मेवारी बोकेको जिल्ला प्रशासन कार्यालयले नै भीडभाड गरी सेवा प्रवाह गरिरहेको पाइएको छ ।

आइतबार दिउँसो ११ बजे । कार्यालयमा सेवाग्राहीको निकै ठूलो भीड थियो । चर्को घाममा १ घण्टादेखि उनीहरु ठेलमठेल गर्दै लाइनमा बसिरहेका थिए । ‘कोरोनाबाट बच्न सामाजिक दूरी राख्नु त पर्छ तर म एकैले दूरी कायम गर्न थाले भने मेरो पालो कहिले आउँदैन्’ डाकनेश्वरी नगरपालिकाका सुकदेव यादवले भने–‘त्यहाँ हेर्नु न प्रहरी, प्रहरीले पनि सामाजिक दूरी कायम गराउनेतर्फ चासो देखाएको छैन्, त्यसैले ठेलमठेल लाइनमा बस्ने बाध्यता छ ।’

यसतो भीडभाडले कोरोनाले बच्नसक्ने अवस्था नरहेको उनले स्वीकार पनि गरे । ‘बच्न त सकिदैन तर विकल्प नभएर आफु तथा आफ्ना परिवारमाथि कोरोनाको जोखिम थप्नु परेको छ’ उनले भने–‘सिडिओ कार्यालय हो, स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा प्रवाह भइरहेको होला सोचेर आएको थिए, तर त्यस्तो रैनछ ।’

उनले सोतर्फ ध्यान पुर्याउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह पनि गरे । अर्को सेवाग्राही शम्भुनाथ नगरपालिकाका सुर्यनारायण यादवले निर्णय गर्ने र कार्यान्वयन गराउनेतर्फ ध्यान नदिने परिपाटी पूरानै रहेको गुनासो गरे । ‘हरेक क्षेत्रमा यस्तै छ देखाउँनैलाई भएपनि निर्णय चैं गर्ने तर कार्यान्वय गर्ने गराउनतर्फ ध्यान नदिने’ उनले भने–‘अहिले कोरोना महामारीले ठुलो रुप लिइरहेकाले प्रशासनदेखि सम्बन्धित सवै सरोकारबालाले यसतर्फ गम्भीर लाग्नुपर्ने थियो तर अन्य ठाउँ वा कार्यालयको कुरा छाडौं प्रशासन कार्यालयकै अवस्था हेर्नु न ।’ कोरोना भयावह नभइजाओस् भन्नेतर्फ सवैलाई गम्भीर हुन उनले आग्रह गरे ।

उता, कार्यालय सप्तरीले सेवाग्राहीको भीडभाड कम गर्ने प्रयास नगरेको पनि होइन् । सोमवारैबाट थप सतर्कतासहित मापदण्ड कार्यान्वयमा ल्याएको छ । जसअनुसार आईतवार शम्भुनाथ, सुरुङ्गा र डाक्नेश्वरी नगरपालिकाका सेवाग्राहीका लागि मात्रै सेवा प्रवाह भइरहेको छ भने सोमवार रुपनी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिका, बुधवार तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्निसाईर कृष्णासवरण गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिँदै आएको छ । यद्यपी, भीडभाड भने कायम छ ।

प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले सतर्कतासहितको मापदण्ड कार्यान्वयमा ल्याएपछि केही हदसम्म भीड काम भएको प्रतिक्रिया दिए । ‘अहिले धेरै नै कम भएको छ र विस्तारै कम हुँदै जान्छन् पनि’, उनले भने ।

सामाजिक दूरी वा स्वास्थ्य मापदण्ड पालना नभएको विषयमा प्रश्न गर्दा उनले भने–‘मैले त भनिरहेको छु, तपाईको दायित्व हो आएर भन्नुस् ।’

Author:



क्याटोगरी छान्‍नुहोस