वीरगञ्जमा बुधबार बिहान मात्रै ३ संक्रमितको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा बुधबार बिहान मात्रै  कोरोनाले थप ३ जनाको मृत्यु भएको छ। वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ की ६० वर्षीया संक्रमित महिलाको बुधबार बिहान १० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए।

निमोनियाले ग्रसित ती महिला उपचारका लागि नरायणी अस्पतालमा बुधबार बिहान भर्ना भएकी थिइन्। एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

यस्तै वीरगञ्जको नारायणी अस्पतालमै उपचाररत सर्लाहीको धनकौल गाउँपालिका ४ का ४३ वर्षीय पुरुषको पनि बुधबार बिहान पौने २ बजे  मृत्यु भएको छ।
स्वास्थ्यमा समस्या भएपछि ती पुरुषलाई उपचारका लागि मङगलबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको एन्टिजेन विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

बुधबार बिहान नै बाराको सुवर्ण गाउँपालिका–७ की ३० वर्षीया महिलाको पनि उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको छ। बैशाख १३ गते उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएकी ती महिलाको  त्यही दिन पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारका क्रममा उनको बुधबार बिहान सवा १२ बजे मृत्यु भएको  डाक्टर दासले जानकारी दिए।

वीरगञ्जको नारायणी अस्पतालमै मङगलबार पनि कोरोनाले ४ जनाको मृत्यु भएको थियो। यस्तै सोमबार पनि नारायणी अस्पतालमा ३ जना संक्रमितको संक्रमतिको मृत्यु भएको थियो।

कोरोनाको दोश्रो लहर सुरु भएयता कोरोना संक्रमणका कारण वीरगञ्जमा मृत्यु हुनेको संख्या २१ पुगेको छ। वीरगञ्जको नारायणी अस्पतालमा १७ जनाको , नारायणी बयोधा अस्पतालमा ३ जनाको र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो। मृतक २१ जना मध्ये पर्साका १४ जना, बाराका ५ र सर्लाहीका २ जना हुन्।

Author:



क्याटोगरी छान्‍नुहोस