सांसद र मेयरको पहलमा निशुल्क एम्बुलेन्स र शव वाहन सेवा

वीरगन्ज । कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा सांसद र नगर प्रमुखको पहलमा बुधबारदेखि निशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको छ। कोरोना संक्रमितका लागि पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाले संयुक्त रुपमा खरिद गरेको एम्बुलेन्स र शववाहन, बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।

महानगरपालिका परिसरमा आज आयोजित कार्यक्रममा सांसद यादव र नगरप्रमुख विजयकुमार सरावगीले संयुक्त रुपमा एम्बुलेन्स र शववाहन सेवाको उद्घाटन गरेका छन्। सांसद यादवको संसदीय विकास कोषको ४६ लाख रुपैयाँ र त्यसमा अपुग रकम महानगरपालिकाले थपेर १ थान एम्बुलेन्स र १ थान शववाहन खरिद गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलालले जानकारी दिए।

कोरोना संक्रमणको पहिलो लहरका बेला एम्बुलेन्स र शववाहनको अभाव हुँदा संक्रमित र तीनका आफन्तले निक्कै सास्ती खेप्नु परेको थियो । त्यसैलाई मध्जनजर गरी अहिले संक्रमणको दोश्रो लहरमा गत वर्षको जस्तो सास्ती खेप्न नपरोस् भनेर एम्बुलेन्स र शववाहन खरिदका लागि महानगरपालिकालाई ४६ रुपैयाँ महानगरपालिकालाई दिएको सांसद यादवले बताए ।

दोश्रो लहरको  महामारीमा आफूले  अझ पनि सकेको जति सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । महानगरका नगर प्रमुख सरावगीले एम्बुलेन्स र शव वाहन खरिदका लागि सांसद यादवले नै पहल गरेको बताए। बुधबारबाट सञ्चालित एम्बुलेन्स र शववाहनको सेवा कोरोना संक्रमतिका लागि निशुल्क उपलब्ध गराउने सरावगीले बताए ।

यसका साथै होम आइशोलेसनमा रहेका संक्रमितहरुको घरघरमै स्वासथ्यकर्मीका साथ पुगेर महानगरपालिकाले आवश्यक औषधी निशुल्क उपलब्ध गराउने जानकारी पनि उनले दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस