जनकपुरधाम । सरकारले मधेश आन्दोलनसँग सम्बन्धित १५ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री पर्वत गुरुङले बुधवार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा १२० जना अभियुक्तका मुद्दा फिर्ता लिने निर्णय भएको जानकारी गराएका हुन् ।
जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो । मुद्दा फिर्ता सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेभसाइटमा राखिने पत्रकार सम्मेलनमा मन्त्री गुरुङले बताए ।
महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको प्रवक्ता गुरुङले बताए । मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको मन्त्री गुरुङले बताए ।