जिल्ला प्रशासन कार्यालय सिरहामा अब आलोपालो सेवा

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहाले अबदेखि स्थानीय तहगत आलोपालो सेवा प्रदान गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै आलोपालो प्रणालीमा सेवा दिइने भएको हो । जिल्ला प्रशासन कार्यालय सिरहाले एक सूचना जारी गर्दै १६ गतेदेखि नै लागू हुने गरी आलोपालो सेवा प्रवाह गर्ने जनाएको छ ।

नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि लिन आउनेको चाप बढी भएको भन्दै आलोपालो विधि लागू गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

आलोपालो विधिअन्तर्गत कर्जन्हा र मिर्चैया नगरपालिकाका सबै वडाका सेवाग्राहीले आइतबार सेवा पाउनेछन् भने सोमबार कल्याणपुर नगरपालिका र लक्ष्मीपुरपतारी गाउँपालिकाको ६ नम्बर वडाबाहेक सबै वडाका सेवाग्राहीले सेवा पाउनेछन् ।

मंगलबार गोलबजार नगरपालिका, अर्नामा र नरहा गाउँपालिकाका सबै वडा, बुधबार धनगढीमाई नगरपालिकाका १२, १३, १४ नम्बरबाहेक सबै वडा, सुखिपुर नगरपालिकाका सबै वडा र विष्णुपुर गाउँपालिकाका वडाका सेवाग्राहीले सेवा पाउने सूचनामा उल्लेख छ ।

बिहीबार औरही, बरियारपट्टी र नवराजपुर गाउँपालिकाको १ नम्बर वडाबाहेक सबै वडाका सेवाग्राहीले सेवा पाउनेछन् । शुक्रबार भने सिरहा नगरपालिकाका सबै वडाका सेवाग्राहीलाई सेवा दिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

तोकिएको दिनबाहेक अन्य दिनमा जाने सेवाग्राहीले सेवा नपाउने प्रशासनले जनाएको छ । तर, अत्यावश्यक कामका लागि आउने सेवाग्राही तथा वृद्धवृद्धा र फरक क्षमताका व्यक्तिलाई जतिबेला पनि प्राथमिकता दिइने प्रजिअ कँडेलले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस