भरपेट खाना माग्दा साङ्लोले बाँधेर कुटपिटमा परेका श्रमिक सदाको मृत्यु

राजविराज, १८ वैशाख । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओ संदेशमार्फत श्रमिकहरुलाई सम्बोधन गरिरहदा सप्तरीका एक श्रमिक परिवार भने शव पोष्टमार्टमका लागि डाक्टरलाई गुहार्दै थिए ।

‘काम गरेपछि भरपेट खाना माग्दा ठेकेदारले निर्घात कुटपिट गरेपछि पतिको मृत्यु भयो, हामीलाई न्याय दिलाउनकै लागि भए पनि शवको निष्पक्ष पोष्टमार्टम गरिदिनुस् हजुर’ राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राजगढ गाउँपालिका–५ मलेकपुरकी ४० वर्षीया प्रर्मिलादेवी सदाले यसरी नै पिडा पोख्दै थिइन् । तर, अस्पतालमा उपलब्ध स्रोत–साधनबाट मात्रै पोष्टमार्टम गर्दा धेरै कुरा थाहा हुन नसक्ने भन्दै अस्पताल प्रशासनले दिएको जवाफले उनी थप अन्यौलतामा परिन् । र, पोष्टमार्टम गराउन वैकल्पिक उपायकालागि चौतर्फी गुहार्न थालिन् ।

घटना कसरी भयो ?

प्रर्मिलादेवीका अनुसार गत ९ गते वैशाखमा गाउँकै ठेकेदार रमेश यादवले ४५ वर्षीय बुुधुलाई भारतको जमुनानगरस्थित प्लाइउड कम्पनीमा मजदुरी गर्न लगेका थिए ।

‘गत विहिवार (वैशाख १६ गते) मोवाइलमा फोन गरेर रमेशले नैर बोर्डरमा हामीलाई बोलायो, म पनि छोरासहित पुगे’ प्रर्मिलादेवीले भनिन्–‘त्यही बेला मेरो पति वेहोस अवस्थामा जमुनानगरबाट ल्याइएको थियो र रमेशले बुधु विरामी छ घर लिएर जानु भन्दै त्यहीबाट फेरी भारत नै फर्किए ।’

पतिलाई घर लिएर आएपछि खाना खान माग्दा कुटपिट गरी यस्तो अवस्थामा पुर्याएको पतिले नै बताएको प्रर्मिलादेवी बताइन् । ‘गत मंगलबार (१४ वैशाख गते) मा खाना खाने विषयमा झगडा भएपछि ठेकेदार रमेश यादवसहित चारजनाले पतिलाई फलामको साङ्लो (जंजिर)ले बाँधेर कुटपिट गरेका थिए’ उनले भनिन्–‘कुटपिटबाट घाइते भएर विरामी परेपछि पतिलाई घर फर्काइयो ।’

घाइते बुधुलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरेकोमा उपचारकै क्रममा हिजो (वैशाख १७ गते) राति मृत्यु भएको हो । सो बारे प्रहरीमा पनि उजुरी दिएको पिडित प्रर्मिलादेवी बताइन् ।

यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘बुधुका परिवारले कुटपिट गरी हत्या गरेको भन्नुभएको छ’ उनले भने–‘कुटपिटबाटै मृत्युु भएको हो कि होइन भन्ने विषय अनुसन्धानमै छ ।’ मृतक सदाका चार छोराछोरी छन् ।

शव पोष्टमार्टमको लागि धरान पठाइयो

दिनभरको प्रयासपछि शव पोष्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । संयुक्त दलित संर्घष समिति सप्तरीको पहलमा शव पोष्टमार्टमको लागि धरान पठाइएको समितीका सचिव शिवकुमार रामले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस