मोरङमा निषेधाज्ञामा थप कडाइ, अटेरी गरे मुद्दा चलाइने

जनकपुरधाम । मोरङमा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेको संख्या बढ्दै गएपछि प्रहरी प्रशासनले थप कडाइ गर्ने भएको छ । अब निषेधाज्ञा उल्लंघन गर्नेलाई मुद्दा चलाएर कारबाही गरिने भएको हो । प्रदेश- १ को राजधानी विराटनगरमा सडकमा हिँडडुल गर्ने, पसल खोलेर निषेधाज्ञा उल्लंघन गर्ने बढ्दै गएपछि मुद्दासहितको कारबाही गरिने भएको हो ।

नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र रूपमा समुदायमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित आसपासका स्थानीय तहमा जारी गरेको निषेधाज्ञामा कडाइका साथ कार्यान्वयन हुन सकेको छैन ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले तीव्रगतिमा संक्रमण फैलिन थालेपछि निषेधाज्ञा जारी गरे पनि उल्लंघन भइरहेकाले थप कडाइ गरिएको बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले निषेधाज्ञाको पालना गराउन सबैतिर उचित सुरक्षा सावधानी अपनाएर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

उनले अब अटेरी गर्नेमाथि संक्रामक रोग निवारण ऐन २०२० अनुसार कारबाही गर्ने बताए । उनले अब सम्झाउने काम नहुने बताउँदै अटेरी गर्नेलाई मुद्दा चलाउने तयारी गरिएको जानकारी दिए । यसअघिसम्म प्रहरीले निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ छाड्ने गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस