गजेन्द्रनारायण सिंह अस्पतालः एचडियु कक्ष भरिभराउ

राजविराज, २७ वैशाख । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको उच्च उपचार कक्ष (एचडियु) भरिभराउ भएको छ । गत आइतवारदेखि सञ्चालन आएको सो कक्ष आज (आइतवार)सम्म आइपुग्दा भरिभराउ भएको हो ।

कुल २५ शैय्या (बेड) रहेको सो कक्षमा अहिले सबै शैय्या भरिसकेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.रणजित कुमार झाले बताए । ‘२५ वटै बेड भरिसकेपछि पाँच वटा विरामीलाई इर्मेजेन्सीमा राखेका छौं’ उनले भने–‘यद्यपी, उपचारार्थ सबै विरामीको स्वास्थ्य अवस्था सुधारन्मुख रहेको छ ।’

हाल एचडियुमा ४० वटा अक्सिजनको सिलिण्डर प्रयोग भइरहेको मेसु डा.झाले बताए । ‘लगभग भोलीसम्ममा हामीसँग भएको सबै अक्सिजन सकिन्छ, त्यसकालागि प्रदेशदेखि संघ सरकारसँग पनि माग गरिसकेको छु पनि’ उनले भने–‘भोलीसम्म अक्सिजन आइसकिएन भने उपचार सेवा प्रभावित हुनसक्ने सम्भावना पनि उतिनै छ, तर अक्सिजनको लागि हाम्रो प्रयास जारी छ ।’

उनले अक्सिजन पूर्ति गर्ने गराउनेतर्फ ध्यान पुर्याउन सरोकारबालामा आग्रहमा पनि गरे ।

एचडियु सञ्चालनको जिम्मा पाएका स्वास्थ्यकर्मी पनि संक्रमित

मेसु डा.झाले एचडियु सञ्चालनको जिम्मा पाएका स्वास्थ्यकर्मी पनि संक्रमित भएर समस्यामा परेको बताए ।

‘हामीसँग जनशक्ति अभाव त नै, त्यसमाथि भएका जनशक्ति पनि संक्रमित भइसकेकाले समस्या भइरहेको छ’ उनले भने–‘सञ्चालनको जिम्मा पाएका स्वास्थ्यकर्मी र कृत्रिम स्वासप्रस्वास प्रणाली (भेन्टिरलेटर) सञ्चालन गर्ने स्वास्थ्यकर्मी पनि संक्रमित भइसकेका छन् ।’

यद्यपी, जसोतसो जनशक्ति व्यवस्थापन गरेर एचडियु सञ्चालन हुँदै आएको उनले बताए ।

भोलीदेखि प्रि–आइसोलेसन सञ्चालन हुँदै

साइकृष्णा अस्पतालमा भोलीबाट प्रि–आइसोलेसन सञ्चालनमा ल्याउन लागेको मेसु डा.झाले बताए । ‘जनशक्ति अभावका कारण प्रि–आइसोलन सञ्चालनमा केही समय लागेपनि जनशक्ति व्यवस्थापन गरेर भोलीबाटै प्रि–आइसोलेसन सञ्चालनमा ल्याउँदैछौं’ उनले भने–‘बढ्दो संक्रमणलाई ध्यानमा राखेर तयार गरिएको योजना अनुसार हामीले केही दिन नै करारमा जनशक्ति माग गरेका थियौं, त्यसको पनि आज मात्रै नतिजा प्रकाशन गरेका छौं ।’

छनोट भएकाहरुलाई भोलीबाटै बोलाएको र ती जनशक्तिबाटै प्रि–आइसोलेसन सञ्चालनमा ल्याएको मेसु डा.झाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस