कोरोनाको कहरः सप्तरीमा एक स्थानीय तह सिल, सहकारीलाई बचत संकलन कार्य नगर्न आग्रह

राजविराज, ३१ वैशाख । बढ्दो कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सप्तरीको कञ्चनरुप नगरपालिका सिल गर्ने निर्णय गरिएको छ । आज (शुक्रवार) प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बैठकले सो निर्णय भएको हो ।

बैठकबाट सो नगरपालिकामा संक्रमण दर बढ्दो देखिएकोले सबै वडाहरु सिल गरेर आवतजावत नियन्त्रण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी गजेन्द्रनारायण सिंह अस्पताल, युनिक अस्पताल र छिन्नमस्ता अस्पतालले आ–आफ्नो परिसरमा शिघ्र अक्सिजन प्लान्ट स्थापना गर्ने व्यवस्था मिलाउने र जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न जरुरी भएकोले सवै स्थानीय तहसँगको समन्वयमा जिल्ला समन्वय समितिको प्रमुखल समन्वय गरी आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको छ ।

यसैगरी जिल्लामा भिटीएम र एन्टिजेन किट र रि–एजेन्टको स्टक सकिएको हुँदा तत्काल ५÷५ हजार थान उपलब्ध गराई दिन प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको जनाएको छ ।

सहकारी संस्था तथा बचत परिचालन गर्ने संस्थाहरुलाई संक्रमण कायम रहुनजेल बचत संकलन लगायतका काम नगर्न र बैंक तथा वित्तिय संस्थालाई भीडभाड नहुने गरी सिमित सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन आग्रह गर्ने, नेपाल टेलिकम, विद्युत प्राधिकरण, खानेपानी जस्ता कार्यालयलाई भीडभाड हुने राजश्व काउण्टर केही समयको लागि बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस