निषेधाज्ञामा पनि खुल्छन् सप्तरीका मदिरा पसल !

राजविराज, ३ जेठ । सप्तरी प्रशासनले बढ्दो कोभिड–१९ को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न गत वैशाख २५ गते मध्य रातिदेखि नै अनिश्चितकालका लागि निषेधाज्ञा गरेको छ ।

शहरी क्षेत्रलाई लक्षित गरी जारी गरिएको निषेधाज्ञा कार्यान्वयन गर्न/गराउन प्रशासनदेखि स्थानीय सरकार लगायतका सरोकारबालाहरुले अहोरात खटिरहेका छन् भने ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका कतिपय परिवारलाई छाक टार्न पनि समस्या भइरहदा समेत उनीहरुले निषेधाज्ञाको पालना गरिरहेका छन् । तर, केही मदिरा व्यवसायीहरु भने अटेर गर्दै पसल सञ्चालन गरिरहेको पाइएको छ ।

प्रहरीले गए रातिदेखि यो समाचार तयार पर्दासम्म आधा दर्जन मदिरा व्यवसायीलाई नियन्त्रणमा लिएपछि सो कुरा बाहिरिएको हो । पक्राउ पर्नेमा सदरमुकाम राजविराज नगरपालिका–१ कै २ र ९ का २ जना व्यवसायी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षण माधव प्रसाद काफ्लेले बताए ।

यसैगरी छिन्नमस्ता गाउँपालिका ७ का १, विष्णुपुर गाउँपालिका–१ का १ जनालाई नियन्त्रण लिएको उनले बताए । नियन्त्रणमा लिइएका व्यवसायीहरुमाथि संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने तयारी भइरहेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताए ।

गत वैशाख २३ गते बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट भएको निर्णय अनुसार सदरमुकाम राजविराज, रुपनी, कठौना, कल्याणपुर, खर्चुहिया, पातो, बोदे बरसाईन, तोपा बजार, महुली बजार, पत्थरगाढा, तोपा, छिन्नमस्ता, जिरिया हटिया, मंसापुर, हनुमान नगर, भारदह, बरमझिया, कञ्चनपुर, फत्तेपुर, वीरेन्द्र बजार, महुलीसहितका शहरी क्षेत्रका हटिया क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस