सप्तरीका एक जनप्रतिनिधिसहित सात जनाको कोरोनाबाट मृत्यु

राजविराज, ४ जेठ । सप्तरीमा पछिल्लो २४ घण्टामा एक जनप्रतिनिधिसहित ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो पटक आज (मंगलवार) विहान सप्तकोशी नगरपालिकाकी ४० वर्षीया महिला संक्रमित जनप्रतिनिधिको उपचारकै क्रममा मृत्यु भएको हो ।

गत वैशाख २३ गते पोजेटिभ देखिएकी उनलाई २४ गते विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको विहान सवा ४ बजे मृत्यु भएको सप्तकोशी नगरपालिकाका सूचना अधिकारी महानन्द चौधरीले बताए ।

यसअघि सोमवार गजेन्द्रनारायण सिंह अस्पतालमा सप्तरीका चार र छिन्नमस्ता अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । गजेन्द्रनारायण सिंह अस्पतालमा राजविराज नगरपालिका–१ र ७ का १–१ जना, बिष्णुपुर गाउँपालिका–७ का १ जना र बोदे बरसाईन नगरपालिकाका १ जनाको मृत्यु भएको अस्पतालका सुचना अधिकारी सुर्यकान्त झाले बताए ।

यसैगरी छिन्नमस्ता अस्पतालमा कञ्चनरूप नगरपालिका–३ का ६५ वर्षीय र बिष्णुपुर गाउँपालिका १ का ७० वर्षीय एक–एक जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति मनु झाले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस