राजविराज, १० जेठ । सप्तरीको राजविराज नगरपालिका–७ खर्साल टोलमा भएको शिक्षक हत्या घटनाका अर्का आरोपी पनि पक्राउ परेको साता दिन नवित्दै धरौटीमा छुटेका छन् ।
सप्तरी जिल्ला अदालतबाट आज भएको थुनछेक आदेशले ३ लाख रुपैयाँ धरौटी तिरेर वडा नम्वर ७ कै ४० वर्षीय आरोपी टुनटुन भनिने सुभाष चन्द्र यादव छुटेका हुन् । न्यायाधिस प्रेमबहादुर न्यौपानेको आदेशले हत्याका आरोपी यादवले धरौटी तिरेर रिहा भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मधेशलाइभलाई बताए ।
२०७६ असार १० गते विहान २ बजे तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नगरपािलका–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गरिरहेका २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको हत्या भएको थियो ।
छोरालाई आठ जनाको समूहले कुटपिट गरी हत्या गरेको भन्दै मृतक बिराजीका बुवा उपेन्द्रप्रसाद यादवले असार ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । असार १२ गते उजुरी दर्ता भएसँगै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेका थिए ।
अनुसन्धानकै यादवलाई यही जेठ ४ गते घरमै लुकिछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए । ‘हामीले पक्राउ गरेपछि यादवलाई सम्मानित जिल्ला अदालतमा पेश गरेका छौं,’ उनले भने ।
यसअघि पनि गत चैत ५ गते प्रहरीले सोही घटनाका आरोपमध्ये राजविराज नगरपालिका–७ कै २४ वर्षीय श्रवण कुमार महेतालाई ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेबाट पक्राउ गरेका थिए । मेहता पनि धरौटीमै छुटेका छन् ।
गत चैत ३० गते सोही अदालतबाट भएको आदेशअनुसार मेहताले २ लाख रुपैयाँमा धरौटी तिरेर छुटेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताए । घटनाका अन्य पाँच जना आरोपी अझै फरार रहेकाले खोजी कार्य भइरहेको छ भने आरोपीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।