धरानको कोभिड अस्पतालः चिकित्सकको लापरबाहीले संक्रमितको बेडबाट लडेर मृत्यु

इटहरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मातहतमा रहेको कोभिड–१९ अस्पतालमा लापरवाहीका कारण उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सामान्य अवस्थामा भर्ना भएकी सिरहाको गोलबजारकी ५५ बर्षीया महिलाको मृत्यु भएपछि परिवारजनले विरोध जनाएका छन् । विरामीको बेडबाट लडेर मृत्यु भएको भएको भन्दै परिवारजनले विरोध जनाएका हुन् ।

सोमबार दिउँसो २ बजे काउन्सेलिङको क्रममा बेडबाट लडेको विरामीको मृत्यु भएको चिकित्सकले नै जानकारी गराएको मृतकका छोरा धन नारायण श्रेष्ठले बताए । दिउँसो ३ बजेतिर काउन्सेलिङको क्रममा लडेर नाक र निधार फुटेपछि आइसले सेकिरहेको र गए राति साँढे ७ बजेतिर विरामीको मृत्यु भएको चिकित्सकले जानकारी दिएको उनले बताए ।

उनले उपचारमा गम्भीर लापरवाही गरेकाले विरामीको लडेर मृत्यु भएको भन्दै छानबिन हुनुपर्ने माग गरे । सामान्य अवस्थामा भर्ना भएकी आमा कसरी लडेर गम्भीर घाइते भइन् ? भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ आफुले नपाएको उनको भनाई छ । ‘हिजो आइतबार बेलुकीसम्म डाक्टरले नर्मल छ भनेको थियो । आज (सोमवार) दिउँसो २ बजे काउन्सेलिङमा बेडबाट लडेर अलिकति चोट लागेको छ, गाह्रो छ भन्यो । फेरि ३ बजे लडेर नाक फुटेको छ, निधार फुटेको छ, आइसले सेकिरहेका छौं चिकित्सकले भने’ नेपाली सेनाका क्याप्टेन समेत रहेका श्रेष्ठले भने–‘म यही छुँ, मलाई समयमा नै किन जानकारी दिइएन ? लड्नुको कारण के हो ? को जिम्मेवार हुने ? चिकित्सक र नर्सहरु के हेरेर बस्यो ?’

आमा कसरी लडेको भनेर सिसिटिभी फुटेज पनि हेर्न नदिएको गुनासो बताए । आमा लडेकै हो भने पनि गम्भीर घाइते हुँदासम्म आइसियुमा नराखेको उनको गुनासो छ । ‘समयमा नै आइसियुमा किन राखिएन ? जबरजस्ती भनेपछि मात्र लगियो । स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको छ’ उनले भने–‘यस्तो लापरवाही नहोस्, यो कुराको पनि छानबिन गरेर सत्यतथ्य सार्वजनिक हुनुपर्छ ।’

मृतकलाई सुगर बढेपछि विरामीलाई जनकपुर अस्पताल लगिएको थियो । त्यहाँबाट रिफर भएपछि धरान ल्याएपछि दुई दिन इर्मजेन्सीमा राखेको र पिसिआर परिक्षण गर्दा पोजेटिभ आएको उनले बताए । ‘त्यसपछि कोभिड अस्पतालमा भर्ना गरे’ उनले भने–‘तर यसअघि जनकपुरमा भने कोभिड परीक्षण गर्दा रिपोर्ट नेगेटिभ नै थियो ।’ कोभिड अस्पतालमा भर्ना हुँदा पनि आमाको स्वास्थ्य अवस्था सामान्य नै रहदा पनि चिकित्सक र नर्सको लापरबाहीका कारण आफुलाई आमा गुमाउनुपरेको उनले दुखेसो गरे ।

उता, प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले घटनाबारे बुझेर प्रतिक्रिया दिने बताए । ‘सिसिटिभी हेछौं, चिकित्सक वा नर्सबाट गल्ती भएको छ भने कारवाही हुन्छ’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस