एनआरएनए कतारको अध्यक्षमा पुनः मुक्तदाको उम्मेदवारी घोषणा (प्रतिवद्धतासहित)

रामएकवाल राम
दोहा (कतार) । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा पुनः मोहम्मद मुक्तदा मुसलमानले उम्मेदवारी घोषणा गरेका छन् । आठौं महाधिबेशनबाट अध्यक्षमा निर्वाचित भएका मुसलमानले नवौं महाधिवेशनमार्फत पुनः सन् २०२१/२०२३ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।

उनले आठौं महाधिवेशनबाट निर्बाचित भएसँगै अघिल्लो कार्यकालमा अधुरा रहेका कार्ययोजनालाई पुर्णता दिन पुनः उम्मेदवारी दिन लागेको बताए । एनसीसी कतारलाई गतिशिल नेतृत्व प्रदान गरी एनसीसी कतारको हरेक गतिविधीहरुलाई श्रममैत्री बनाउन पुनः एक कार्यकाल काम गर्ने मुक्तदाले बताए । ‘२०१९/२०२१ कार्यकालका लागि यहाँहरुले दिनुभएको अध्यक्ष पदको जिम्मेवारीसँगै सहयोग र सद्धभावका लागि हार्दिक आभार प्रकट गर्दछु, कोभिड–१९का कारण आपसी भेटघाटमा भौतिक सहभागिताका साथ निर्धारित एवं घोषित कार्यक्रमहरु सम्पन्न गर्न सकिएन’ उनले भने–‘तथापी महामारीमा यहाँहरुको साथ र सहयोगका कारण अधिकतम सेवा प्रदान गर्ने अवसर प्राप्त भयो ।’

कतारमा रहेका जनप्रगतिशिल मन्च कतार, जनसम्पर्क समिति कतार, प्रबासी नेपाली मञ्च नेपाल समुह कतार, नेपाली समाज कतार, बिबेकशिल साझा कतार, जनजाति महासङ्घ कतार, अन्तराष्ट्रिय मुस्लिम समाज लगायत संघ संस्थाहरुको समर्थनमा आफु उम्मेदवारी दिएको जानकारी गराए ।

उनले कतारबासी एनसीसी सदस्यहरुलाई सहयोग र समर्थन गरी आगामी नबौं महाधिवेशनमा सहयोग गर्न आग्रह गर्दै आफ्ना घोषणा पत्र पनि सार्वजनिक गरेका हुन् । नेपाल वाहिर बस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गरिने घोषणा पत्रमा छ ।

मुक्तदाका प्रतिवद्धताहरु:

१. एनसीसी कतारको हरेक गतिबिधीहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोशिस गरेको र अझ सशक्त बनाईने छ ।

२. विगतका वर्षहरुदेखि नै घोषित नेपाली सांस्कृतिक केन्द्र, स्थापना गर्ने कार्यका लागि पहल भइरहेको र उक्त कार्य सम्पन्न गर्नका लागि यथासम्भब प्रयास गरिनेछ ।

३. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरीरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणममुखी वनाउनका लागि पहल गरिनेछ ।

४. विगतमा नेपाली नियोगसँग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरीरहेको र आगामि दिनहरुमा थप रचानात्मक ढङ्गवाट कार्य सम्पादन गरिनेछ ।

५. कतार सरकारको सम्वन्धित निकायसँगको सहकार्यमा विगतमा नेपाली श्रमिकहरुका लागि वेलावेलामा चेतनामुलक कार्यहरु गरीएको र आगामी दिनहरुमा समेत यसको निरन्तरता र संस्थागत रुपमा सम्वन्ध स्थापित गरी थप कार्यहरु गरिनेछ ।

६. प्राय नेपालीहरु कतार आउँदा कतारको भाषा, सस्कृति, धर्मका बारेमा त्यति जानकारी नहुँदा समस्यामा पर्ने हुँदा सोको न्युनिकरणका लागि चेतनमुलक कार्यक्रमको आयोजना गरिनेछ ।

७. २०२२ विश्वकप आयोजक राष्ट्र कतारसंग नेपाली समुदायको भुमिका प्रभावकारी वनाउनका लागि सम्बन्धित पक्षसँग समन्वय गरिनेछ ।

८. नेपालमा वैदेशिक लगानीका लागि संवृद्ध नेपाल निमार्णको अभियानमा कतारवाट इच्छुक लगानीकर्ताहरुको लागि आवश्यक पहल गर्न नेपाली नियोगको समन्वयमा प्रभावकारी भुमिका निर्वाह गरीनेछ ।

९. नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ ।

१०. पुर्व परिभाषित गैरआवसिय नेपाली संघको मान्यता अनुसार सार्क मुलुकभन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन नेपाल बाहिर वस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गरिनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस