कतारमा विश्वकप फुटबल हेर्न आउने १० लाखलाई खोप लगाइने घोषणा

रामएकवाल राम
दोहा (कतार) । कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख खेलप्रेमीलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा अल थानीले विश्वकप हेर्न आउनेमध्येका १० लाखलाई कोरोनाविरुद्धको खोप दिने जानकारी दिएका हुन् । तर, खोप फुटबल अधिकारी र खेलाडीलाई दिइने हो कि दर्शकलाई भन्नेबारे उनले खुलाएनन् ।

कोरोनाविरुद्धको खोपको पूरा डोज नलिई स्टेडियममा प्रवेश गर्न अनुमति नपाइने भएकाले खोप दिने विषयमा कम्पनीहरुसँग छलफल भइरहेको उनको भनाइ छ । ‘फिफा विश्वकप आउँदासम्म अधिकांश मुलुकले आफ्ना नागरिकहरुलाई कोरोनाविरुद्धको खोप लगाइसकेका हुनेछन् । यद्यपि, केही मुलुकले भने त्यतिबेलासम्म आफ्ना नागरिकहरुलाई खोप दिन सकेका हुँदैनन् । हाम्रो प्रमुख लक्ष्य भनेको खोप नलगाएका मानिसलाई खोप लगाउँदै आफ्ना नागरिक र बासिन्दाहरुको सार्वजनिक स्वास्थ्यको सुरक्षा गर्नु हो,’ उनले भने ।

कतारमा २०२२ को नोभेम्बर २१ देखि फुटबलको विश्वकप सुरू हुने तालिका छ।कतारले कोरोना महामारीमा पनि विश्वकप आयोजनाको तयारीलाई भने रोकेको छैन् । फिफा र कतार विश्वकप आयोजकले भने खोप अनिवार्य गर्ने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। विश्वकपको आयोजनाबाट मुलुकलाई आर्थिक रुपमा ठूलो फाइदा हुने कतारले विश्वास लिएको छ ।

यद्यपी, कतारले भविष्यमा आउनसक्ने कोरोनाको तेस्रो लहरलाई नियन्त्रण गर्न खोप अभियानलाई तीव्रता दिएको छ । कतारमा अहिलेसम्म २ लाख २० हजार मानिसमा कोरोना संक्रमण भएको छ भने ५८५ जनाले ज्यान गुमाएका छन् । कोभिड–१९ राष्ट्रिय रणनीतिक समूहका अध्यक्ष एवं हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग विभागका प्रमुख डाक्टर अब्दुल्लातिफ अल–खालका अनुसार कतारका ६० प्रतिशतलाई नागरिकलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज र ४६ प्रतिशतलाई दुबै डोज लगाइसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस