विराटनगरमा चिया पसलभित्र महिला मृत फेला

विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित बसपार्कनजिक रहेको एउटा चिया पसलभित्र बिहीबार दिउँसो एक महिला मृत फेला परेकी छन् । विराटनगर–१० घर भएकी ४० वर्षीया सीता राजवंशीलाई आफ्नै चिया पसलभित्र मृत फेला पारिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

उनका अनुसार दिउँसो १२ बजेतिर पसलभित्र भुइँमा घोप्टो परेको अवस्थामा मृत भेटिएपछि घटनास्थलबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार राजवंशीको पसल बिहान भने खुला थियो । ‘भित्रबाटै ढोकोको चुक्कुल लगाएको चिया पसलको भुइँमा घोप्टो परेर लडिरहेको अवस्थामा शव भेटिएको हो,’ जिसीले भने, ‘शव पोस्टमार्टमका लागि अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।’

प्रहरीका अनुसार महिला मृत भेटिएको पसलभित्रको बाँसको बलोमा सल पनि झुण्डिएको अवस्थामा भेटिएको छ । ‘मृत्युको कारण यकिन भइसकेको छैन । सलको पासो लगाएर आत्महत्या गरेको पनि हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो, ‘झुण्डिएपछि सलबाट खुस्किएर शव भुइँमा खसेको हुनसक्ने देखिन्छ । तर अनुसन्धान जारी रहेका कारण घटनाका बारेमा यकिन भइसकेको छैन ।’

Author:



क्याटोगरी छान्‍नुहोस