राजविराजमा अनुगमन टोलीमाथि अभद्र व्यवहार गर्ने व्यवसायी पक्राउ

राजविराज, ३१ असार । सप्तरीको राजविराज बजारका विभिन्न पसलहरु विहिबार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत कल्पना कुमारी मानन्धर नेतृत्वको टोलीले बजार अनुगमन गरेको हो ।

कालोबजारीलाई नियन्त्रण, सुपथ मूल्यमा उपभोग्यबस्तु खरिदबिक्री तथा सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले बजार अनुगमन गरिएको प्रशासकीय अधिकृत मानन्धरले बताइन् ।

उनका अनुसार एक दर्जनभन्दा बढी पसलहरुमा गरिएको अनुगमनबाट व्यवसायीहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिने मूल्य सूची पाइएको छैन भने म्याद गुज्रिएका सामग्री विक्री र कोराना संक्रमणबाट बच्न अपनाइने स्वास्थ्य मापदण्ड विना नै विक्री गर्ने गरेको पाइएको छ ।

बरामद भएका म्याद गुज्रिएका खाद्यवस्तुहरु नष्ट गरिएको उनले बताइन् । यसैगरी मूल्य सूची नराखेका व्यवस्थायीहरुलाई अबिलम्ब मूल्य सूची राख्न पटकलाई चेतावनी दिएको उनले बताइन् ।

टोलीलाई अभद्र व्यवहार गर्ने एक व्यवसायी पक्राउ

अनुगमनकै क्रममा राजविराजका एक जना व्यवसायीलाई पक्राउ गरिएको छ । टोलीमा खटिएका कर्मचारीलाई गोपाल एण्ड ब्रदर्सका कर्मचारी गोपाल प्रसाद साहले अभद्र व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको प्रशासकीय अधिकृत मानन्धरले जानकारी दिइन् । उनलाई जरिवाना तिराएर छोड्ने उनले बताइन ।

Author:



क्याटोगरी छान्‍नुहोस