प्रदेश प्रमुख झाले दुई विधेयकमा हस्ताक्षर गरे, दुई विधेयक फिर्ता पठाए

जनकपुरधाम । प्रदेश २ मा दुईवटा विद्येयक प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख डा.राजेश झा अहिराजले प्रदेशसभाबाट पारित भएर आएका दुई विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र विनियोजन विधेयक २०७८ लाई प्रदेश प्रमुख झाले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

दुई विधेयक फिर्ता

प्रदेश प्रमुख  झाले प्रमाणीकरणका लागि पठाइएका दुईवटा विधेयक दोस्रो पटक फिर्ता पठाएका छन्।

स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदकसम्बन्धमा व्यवस्था गर्न बनेको विधेक प्रदेश प्रमुख झाले दोस्रो पटक फिर्ता पठाएका हुन्।

सामाजिक विकास मन्त्रालयले स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक पारित गराएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाउँदा त्यस विधेयकमा मातृत्व सुरक्षालगायत विषय वस्तु नसमेटिएको कारण देखाउँदै सुझावसहित परिमार्जन गरेर विधेयक ल्याउन भन्दै फिर्ता पठाइएको छ।

तर, दोस्रो पटकसमेत प्रमाणीकरणका लागि पठाइएकामा १३ बुँदे सुझावसहित पुनः फिर्ता पठाएका छन्। त्यस्तै, प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसमेत दोस्रो पटक फिर्ता पठाइएको छ।

पहिलो पटक प्रदेश प्रमुख झाले त्यस विधेयकमा किसानलगायतलाई पदक दिने व्यवस्था नगरिएको भन्दै सुझावसहित फिर्ता पठाएको थियो। यसपटक समेत ११ बुँदे सुझावसहित विधेयक फिर्ता पठाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेशभित्र विशिष्ट योगदान दिने व्यक्तिलाई सम्मान गर्न प्रदेश सरकारले पदक प्रदान गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक निर्माण गरेको थियो।

सरकारले यस चालु वर्षमा पदक बाँड्नका लागि करिब १० लाख रुपैयाँ विनियोजनसमेत गरेको थियो। विधेयकमा प्रदेश स्थापनाको पहिला नै नाम घोषणा गरी स्थापनाको दिन फागुन ३ गते पदक दिने गरी विधेयक प्रदेशसभाबाट पास गराइएको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस