मुलुकभर वैशाखयता प्राकृतिक प्रकोपमा परी १२१ जनाको मृत्यु, ३६ बेपत्ता

जनकपुर, ५ साउन । मुलुकभर वैशाखयताको प्राकृतिक प्रकोपमा परेर १२१ जनाको मृत्यु भएको छ । गत वैशाख १ गतेदेखि साउन ५ गते मंगलबारसम्म सो संख्यामा हताहती भएको गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो ।

४ महिनाको अवधिमा १७२ वटा पहिरोका घटनामा ३२ जनाको र ७७ वटा बाढीको घटनामा २७ जनाको मृत्यु भएको प्राधिकरणको विवरणमा उल्लेख छ । प्राधिकरणले मंगलबार सूचना सार्वजनिक गर्दै पहिरोमा ७ र बाढीमा परी २७ जना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर र बाढीमा बगेर घाइते भएका ६७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ती घटनामा ३ सय ४ घरपरिवार प्रभावित भएको जानकारी गराउँदै प्राधिकरणले ६ करोड ५७ लाख बढी रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख गरेको छ । अविरल वर्षापछिका विभिन्न १४३ वटा घटनामा ८ जनाको मृत्यु भएको र १४ जना घाईते भएको उल्लेख गर्दै प्राधिकरणले १५५ घर परिवार प्रभावित भएको बताएको छ ।

यसैगरी चट्याङबाट पछिल्लो चार महिनामा मात्रै ३८ जनाले ज्यान गुमाएको प्राविधकरणको विवरणमा उल्लेख छ । मुलुकका विभिन्न जिल्लामा १३५ वटा चट्याङका घटना भएका छन् भने ती घटनामा ११५ जना घाईते भएको प्राधिकरणको तथ्याङ्क छ ।

चार महिनामा मुलुकका विभिन्न जिल्लामा आगलागीका ५२३ घटना भएका छन् । आगलागीबाट १२ जनाको मृत्यु हुनुको साथै ८२ जना घाईते भएका छन् । आगलागीबाट ६६३ घरपरिवार प्रभावित भएको र ४४ करोड ७१ लाख ४५ हजार बढी मूल्य बराबरको क्षति भएको प्राधिकरणले उल्लेख गरेको छ । सोही अवधिमा डढेलोका ६२ वटा घटनामा ३ जनाको मृत्यु र एक जना घाईते भएका छन् ।

वैशाख एक गतेदेखि साउन ५ गते मंगलबारसम्म हावाहुरीका ३२ वटा घटना भएको र ती घटनामा एक जनाले ज्यान गुमाएका छन् । हावाहरीमा परी ४ जना घाईते भएको र बेपत्ता एक जनाको खोजी भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस