कोइलाडीस्थित विद्यालयमा कम्प्युटर ल्याब स्थापना

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीस्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयमा कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ । शनिबार आयोजना गरिएको एक कार्यक्रमबीच कम्प्युटर ल्याबको उद्घाटन गरिएको हो ।

तेह्रथुम जिल्लाको जलजलेमा जन्मेका अमेरिकामा बस्दै आएका डा. ओम प्रसाद दहालले शुरु गरेको डिट्रोइट म्याराथुन २०२० र एशोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (अन्मा) को सहकार्यमा विश्वका विभिन्न नौ वटा देशमा बसोबास गर्दै आएका नेपालीसहितका ब्यक्तिहरुको सहयोगमा सो विद्यालयलाई २० थान कम्प्युटर, एक थान प्रिन्टर र एक थान प्रोजेक्टर प्रदान गरिएको छ ।

अन्माले सप्तरीको राजेन्द्र देवकी माध्यमिक विद्यालयसँगै सिरहाको जनता चेथरु जितेन माध्यमिक विद्यालय कविलासी र जनता माध्यमिक विद्यालय सुखिपुरलाई गरी ६० थान कम्प्युटर, तीन थान प्रिन्टर र तीन थान प्रोजेक्टर सिरहा–सप्तरी कम्प्युटर ल्याब हस्तान्तरण कार्यक्रम अन्तर्गत प्रदान गरिएको अन्माका प्रतिनिधी कुन्दन शर्मा मिश्रले जानकारी दिए ।

सो अवसरमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह र अन्मा प्रतिनिधी कुन्दन शर्मा मिश्रले संयुक्त रुपमा उक्त ल्याबको उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै अध्यक्ष सिंहले कम्प्युटर ल्याबको स्थापनाले विद्यार्थीहरुलाई सूचना प्रविधिमा पहुँच पुग्ने बताए ।

अन्माका प्रतिनिधी कुन्दन शर्मा मिश्रले विद्यार्थीहरुलाई सूचना प्रविधिमा पहुँच पुर्याई दक्ष जनशक्ति उत्पादन गर्नमा मद्दत पुर्याउने उद्देश्यले कम्प्युटर ल्याबको स्थापना गरिएको बताए । कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झा, अन्माका प्रतिनिधी ई. सुरेन्द्र कुमार साह, नेत्र प्रसाद गुरागाई, विद्यालयका प्रधानाध्यापक दिपेन्द्र झासहितकाले कम्प्युटर ल्याबले बालबालिकाको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

सो कार्यक्रममा अन्माका प्रतिनिधीहरुलाई विद्यालयको तर्फबाट गम्छा तथा कदर पत्रले सम्मान समेत गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस