प्रदेश १ मा २११ सिसी क्यामेरा बिग्रिए, मर्मत कहिले ?

सुनसरी, १३ भदौ । भारतसँग सीमा जोडिएका सुनसरी, झापा, मोरङमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएका छन् । करिब ३ वर्ष अघि प्रदेश सरकार र स्थानीय सरकार तथा विभिन्न संघसंस्थाको सहयोगमा जडान गरिएका सिसी क्यामेरा बिग्रिए पनि मर्मत नगरिँदा सुरक्षामा चुनौती थपिएको हो ।

प्रदेश १ का तीन सय ७४ स्थानमा सात सय २५ वटा सिसी क्यामेरामध्ये दुई सय ११ वटा बिग्रिएका हुन् । सहरका मुख्य सडक र चोकमा जडान गरिएका सिसी क्यामेरा चट्याङ, अनियमित विद्युत आपूर्ति र मर्मत सम्भारको अभावले प्रयोगविहीन बनेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।

सिसी क्यामेरा मर्मत नहुँदा सामान्य घटना पनि अनुसन्धान गर्दा लामो समय लाग्ने गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए । ‘दुर्घटना भयो भने पनि अनुसन्धान गरेर पक्राउ गर्न समय लाग्ने गरेको छ,’ उनले भने, ‘सिसी क्यामेरा भएको भए त सजिलै पत्ता लगाउन सकिन्थ्यो ।’

अपराध नियन्त्रण र प्रमाण संकलनमा सिसी क्यामेराको उपयोग भइरहे पनि बिग्रिँदा सुरक्षा चुनौती बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताए ।

इटहरीको बुढीखोलादेखि सप्तकोशी नदीसम्म मुख्य सडकमा जडान गरिएका ३८ सिसी क्यामेरामध्ये ३६ वटा विग्रिएको उनको भनाइ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस