प्रदेश १ : दुई वर्षमा ४ हजारभन्दा बढी सवारी दुर्घटना, ७७६ जनाको मृत्यु

प्रकाश तिम्सिना/न्युज कारखाना
सुनसरी, १६ भदौ । प्रदेश १ मा दुई वर्षमा भएका चार हजारभन्दा बढी सवारी दुर्घटनामा सात सय ७६ जनाले ज्यान गुमाउनु परेको तथ्यांक छ । प्रदेश १ का १४ जिल्लाभित्र दुई वर्षको अवधिमा भएका चार हजार चार सय ५३ वटा सवारी दुर्घटनामा सात सय ७६ जनाले ज्यान गुमाएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा भएका एक हजार तीन सय २२ सवारी दुर्घटनामा तीन सय ३२ जनाको मृत्यु सात सय ९१ जना गम्भीर घाइते भएका थिए भने एक सय १७२ वटा मुद्दा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७६/७७ को तुलनामा ०७७/७८मा दुर्घटना संख्या दुई गुणाभन्दा बढीले वृद्धि भएको छ । तीन हजार एक ३१ सवारी दुर्घटना हुँदा चार सय ४४ जनाको सवारी दुर्घटनामा परी मृत्युु भएको छ । त्यस्तै एक हजार ८३ जना गम्भीर घाइते भएका छन् भने तीन सय ४४ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकले देखाउँछ ।

सवारी दुर्घटना बढ्नुमा चालकको लापरबाही, साघुँरो सडक, सवारी साधनको अत्याधिकचाप, बाटो काट्दा सर्वसाधरणको गल्ती जस्ता कारण औँल्याइएको छ । लामो समयदेखि सवारी चलाउँदै आएका निर्मल निरौला सवारीको चाप, तीव्र गतिका कारण आफ्नो सवारी जोगाएर सवारी चलाउनै गाह्रो परेको बताउँछन् ।

पानी परेको समयमा सडकमा परेका खाल्डाखुल्डीका कारण पनि सवारी दुर्घटना हुने गरेको उनको भनाइ छ । प्रदेश १ भरी १४ जिल्लामध्ये सबै भन्दा धेरै सुनसरी, मोरङ, र झापामा अत्याधिक दुुर्घटना हुुने गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

उनकाअनुसार मोटरसाइकल, ट्रक, टिपर, जिप, कार, टेम्पु सबैभन्दा बढी दुर्घटना हुुने गरेको छ । मुख्य राजमार्गमा ट्राफिक प्रहरी बसे पनि भित्रि बाटो तथा पहाडी इलाकामा दुर्घटना बढेको उनको भनाइ छ । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न तीव्र गति मुख्यकारण भएको पत्ता लगाएर अहिले टायम कार्ड लागु गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस