मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जसपाको मसाल जुलुस

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशका आठै जिल्लामा विरोध प्रदर्शन गरेको छ । शनिबार जिल्ला सदरमुकामहरूमा जसपाका नेता तथा कार्यकर्ताहरूले अख्तियारको छापामारीविरुद्ध मसाल जुलुस निकालेका हुन् ।

प्रदेश राजधानी जनकपुरमै निर्धारित समयभन्दा दुई घण्टा ढिलोगरी कार्यक्रम सुरु भएको थियो । जुलुसमा सहभागी नेता तथा कार्यकर्ताहरूले ‘कसैको इसारामा छापा मार्न पाइँदैन, संघीयतामाथि प्रहार गर्न पाइँदैन, अख्तियार प्रमुख होसियार, देशद्रोही अख्तियार मुर्दावाद, अख्तियार प्रमुख राजीनामा दे’ लगायत नारा लगाएका थिए ।

यस्तै, महोत्तरीको जलेश्वरमा प्रदेशसभा सदस्य सरोज सिंह कुशवहाको नेतृत्वमा मसाल जुलस निकालिएको थियो जसपाले भोलि पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले मुख्यमन्त्री कार्यालयमा गत बुधबार छापा मारेको थियो । मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत साइकल वितरण कार्यक्रममा अनियमितता भएको भन्ने उजुरीको आधारमा अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस