कर्मचारीको बदमासीः पीसी नदिएको निहुँमा अख्तियारलाई चिठ्ठी !

राजविराज, १७ असोज । कर्मचारीको बदमासीले काम गर्न समस्या भइरहेको भन्दै यहाँका जनप्रतिनिधिहरुकै गुनासो व्याप्त छ । बढ्दो पीसी (कमिशन)माग्ने प्रवृतिले कामको गुणस्तरीयतामा त प्रश्न उठ्छ नै, भएका कामहरु पनि देखाउनलाई मात्रै हुने गरेको सर्वसाधारणहरु बताउँछन् ।

यस्तै प्रवृतिमा होमिएका छन् सप्तरीको छिन्नमस्ता गाउँपालिकाको पशु सेवा शाखाका कर्मचारी । पशु क्षेत्रमा प्रदेश सरकारबाट आएका कार्यक्रमहरुमा पीसी नपाएको भन्दै आफुभन्दा तल्लो कर्मचारीलाई दवाव दिएरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदनसम्म दिन बाध्य पार्दै आएको कुरा बाहिरिएको छ ।

शाखाका प्रमुख चन्द्रनारायण पण्डित र सहायक प्रमुख रमेश कुमार यादवले तल्लो कर्मचारीलाई दवाव दिएरै गत साउन ०४ गते आयोगमा निवेदन पठाउन लगाएका थिए । पछि (असोज ०१ गते) सो निवेदन फिर्ताका लागि सोही शाखामा पशु स्वास्थ्य प्राविधिक विनोद कुमार मण्डलले पुनः आयोगमा पठाएको पत्र ‘मधेशलाइभ’ले फेला पारेपछि दुवै कर्मचारीले गरेको बदमासी सार्वजनिक भएको हो ।

पत्रअनुसार सो गाउँपालिकामा आर्थिक वर्ष ०७७/०७८ मा प्रदेश सरकारबाट आएका पशु सम्बन्धी कार्यक्रम सञ्चालन भएको थियो । तर, पशु सम्बन्धी कार्यक्रम भएर पनि शाखामा पीसी नबुझाएको भन्दै आयोगलाई लेखिएको चिठ्ठीमा आफुलाई जबरजस्ती हस्ताक्षर गराएको पत्रमा उल्लेख छ ।

संस्थाले योजनाअनुसार नै विधिवत रुपमा कार्यक्रम सञ्चालन गरेको र आफुबाट हस्ताक्षर गराइएको निवेदन गलत र कपोलकल्पीत रहेकोले कारवाहीकोलागि पठाइएको सो निवेदन फिर्ता गरिदिन मण्डलले आग्रह समेत गरेको छ ।

उता, प्रमुख पण्डितले आफुले कुनै कर्मचारीलाई त्यस्तो दवाव नदिएको बताए । ‘कसैको दबाबमा परेर त्यस्तो गरेको हुनसक्छ तर मैले कुनै किमिमको दवाव दिएको छैन्’, उनले मधेशलाइभलाई भने ।

Author:



क्याटोगरी छान्‍नुहोस