जनकपुर बमकाण्डः उच्च अदालतले सञ्जय साहको कैद घटायो

जनकपुरधाम । उच्च अदालत जनकपुरले जनकपुर बमकाण्ड मुद्दामा मुख्य योजनाकार भनिएका संजय साह (टकला) को जन्मकैदको फैसला उल्ट्याएको छ । यसअघि धनुषा जिल्ला अदालतले साहलाई सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालतले ७ वर्षको मात्र सजाय हुने फैसला गरेको हो ।

जिल्ला अदालतको सो फैसलाविरुद्ध अभियुक्त साहले उच्च अदालत जनकपुरमा दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले ७ वर्ष सजायको फैसला गरेको राजिष्ट्रार खड्कराज अधिकारीले बताए ।

साहमाथि रहेको अर्को कर्तव्य ज्यान मुद्दामा षड्यन्त्र गरेर घटना गराएको अभियोगमा कसुरदार ठहर गरिएको छ । तर सो मुद्दामा फैसला आइसकेको छैन । यो मुद्दामा अगामी कार्तिक १५ मा बहस हुने रजिष्ट्रार अधिकारीले बताए ।

०६९ साल वैशाख १८ मा मिथिला राज्यको माग गर्दै जनकपुरधाम स्थित पुर्व–पश्चिम राजमार्ग अवस्थित रामानन्द चोकमा धर्नामा बसिरहेका आन्दोलनकारीलाई लक्षित गरी मोटरसाइकलमा टाइमबम विष्फोट गराइएको थियो । सो बम बिष्फोटनमा परि पाँच जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका थिए ।

घटनाको मुख्य योजनाकारको अभियोगमा साहलाई धनुषा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यस्तै अभियुक्त साहलाई जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्यामा समेत संलग्न रहेको भन्दै धनुषा जिल्ला अदालतले जन्मकैद सजायको फैसला सुनाएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस