सरकारमा जानेभन्दा पनि मधेशका माग पूरा गराउने हाम्रो प्राथमिकताः अध्यक्ष ठाकुर

राजविराज, १८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका छन् ।

सोमवार पार्टीको सप्तरी कार्यसमितिले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘पार्टीको प्राथमिकता मधेशका माग र मुद्दा मात्रै हो’ उनले भने–‘ती माग र मुद्दा पूरा गराउनै तत्कालीन केपी ओली नेतृत्वको सरकारजस्तै शेर बहादुर देउवा सरकारलाई पनि समर्थन जनाएका छौं ।’

अर्को सन्दर्भमा बोल्दै उनले नेपाल भारतको सम्बन्ध विशिष्ट प्रकृतिको रहेको बताउनुभएको छ । ‘हामी नेपाली समस्यामा पर्दा भारतबाट सहयोग खोज्छौं, र सहयोग गर्छ पनि’ उनले भने–‘त्यसलाई कतिपयले हस्तक्षेप पनि भन्छन्, सहयोगलाई कदापी पनि हस्तक्षेप वा प्रभाव भन्न मिल्दैन् ।’

छिमेकीको नाताले नेपालको राजनीतिमा भारतको चिन्ता पनि स्वभाविक रहेको अध्यक्ष ठाकुरको कथन छ ।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको दुवै छिमेकी भारत र चीनमध्ये कसैको पनि गुलामी गर्नु जरुरी नरहेको बताए । अर्को प्रसंगमा नेता महतोले उपेन्द्र यादवले पार्टी फुटाएर मधेसी शक्तिलाई कमजोर गरेकाले आगामी चुनावमा गठबन्धन हुने सम्भावना कम रहेको बताए । उपेन्द्र यादवले मधेसको मुद्दालाई कमजोर बनाएको नेता महतोको आरोप छ ।

Author:



क्याटोगरी छान्‍नुहोस