बारामा ट्याङकरको ठक्करबाट कारमा सवार तीन जनाको मृत्यु

वीरगन्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका– २३, भोलहीमा एक ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार राति करिब ११ बजेतिर वीरगन्ज–पथलैया सडकखण्डमा दुर्घटना भएको हो । पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आइरहेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा परी कारका चालक भारतको बिहार मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चालकको उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो भने अन्य दुईजनाको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस