प्रदेश १ का मुख्यमन्त्री आचार्यले बुझाए राजीनामा

जनकपुर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएका छन् । एमाले विभाजनपछि आचार्यले प्रदेशसभामा सोमबार विश्वासको मत मागेका थिए । तर, उनले विश्वासको मत नपाउने देखेपछि विश्वासको मतको प्रस्तावमाथि मतदान हुनुअघि नै उनले राजीनामा पत्र प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई बुझाएका हुन् ।

आचार्य गत भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि नियुक्त भएका थिए । एमालेको तत्कालीन माधव नेपाल समूहतिर रहेका आचार्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै मुख्यमन्त्री बनेका थिए । प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन भएपछि एमाले अल्पमतमा परेको छ । आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो ।

प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी आचार्यविरुद्ध उभिएका छन् । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस