मिथिला कपको उपाधीमाथि युनाइटेड क्रिकेट क्लव पर्साको कब्जा

राजविराज, १५ कार्तिक । सप्तरीमा सञ्चालित तेश्रो मिथिला कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिताको उपाधी युनाइटेड क्रिकेट क्लव पर्साले उचालेको छ । सोमवार आयोजना गरिएको फाइनल खेलमा घरेलु टिम छिन्नमस्ता स्पोर्टस क्लव बरही विरपुर सप्तरीलाई ५९ रनले पराजित गर्दै युनाइटेड क्रिकेट क्लव पर्साले कप र एक लाख रुपैयाँ नगद हात पारेको हो ।

राजविराजस्थित महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पसको खेल मैदानमा आयोजना गरिएको फाइनल खेलमा टस हारेर व्याटिङ गर्ने अवसर पाएको युनाइटेड क्रिकेट क्लवले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पारे ।

पर्साकालागि सन्तोष कार्कीले सर्वाधिक ३९, सैफअली हवारीले ३३, नरेश गिरीले २७ र इमरान शेखले १८ रनको योगदान दिए । बलिङतर्फ सप्तरीका उपेन्द्र रायले ३, महबुब आलम र दिनेश अधिकारीले समान २/२ विकेट लिए ।

१६२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको छिन्नमस्ता स्पोर्टस क्लव बरही विरपुर सप्तरीले १८ दशमलव ५ ओभर खेल्दै १०२ रनमै समेटियो । सप्तरीकालागि रोहन विक सर्वाधिक ३५, हासिम अन्सारी १८, सेना अनसारी १७ र आदिल अनसारीले १३ रनको योगदान दिए ।

पर्साकालागि घातक बलिङ गर्दै राजा मंसुरीले ४, अल्फाज मन्सुरीले ३ तथा नरेश गिरी र इमरान शेखले समान १÷१ विकेट लिए । फाइनल खेलको म्यान अफ दि म्याच राजा मन्सरी घोषित भए भने छिन्नमस्ता स्पोर्टस क्लब सप्तरीका आदिल अन्सारी म्यान अफ दि सिरिज घोषित भएको आयोजकले जनाएको छ।

यसैगरी बेष्ट बलरमा रन्जितपुर राइडर्स सप्तरीका बिक्रान्त देव र बेष्ट ब्याट्सम्यानमा सोही टिमका पंकज देव भए । खेलपछि आयोजक यूवा शक्ति क्लब बिष्णुपुरका अध्यक्ष रविन्द्र यादवको अध्यक्षतामा आयोजना गरिएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, विष्णुपुर गाउँपालिकाका प्रमुख निलाम्वर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव लगायतले विजेता/ उपविजेता टिमलाई पुरस्कार वितरण गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस