नेप्से ६९ अंकले बढ्यो, नेपाल टेलिकमसहित आठ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

जनकपुरधाम । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । मंगलबार बजार परिसूचक नेप्से ६९.२२ अंकले बढेर २७८४.५८ अंकमा बन्द भएको छ ।

गएको साता लगातार ओरोलो लागेको नेप्सेमा यो साता लागेसँगै आइतबार उताचढावका बीच १ अंकको समान्य गिरावट भए पनि सोमबारबाट नेप्सेमा वृद्धि सुरु भएको थियो । सोमबार २६ अंकको वृद्धि भएको बजारमा आज ६९ अंकको उच्च वृद्धि भएको छ ।

बजार परिसूचकसँगै आज कारोबार रकम पनि उकालो लागेको छ । आइतबार र सोमबार चार अर्बको कारोबार रकम भएकोमा आज साढे पाँच अर्ब नाघेको छ । नेप्सेमा आज एक करोड ९३ हजार २२१ कित्ता सेयर किनेबच हुँदा पाँच अर्ब ५२ करोड १६ लाख ५१ हजारको कारोबार भएको छ । आज नेप्सेमा सबैभन्दा धेरै बजार पुँजीकरण भएको नेपाद दुरसञ्चार कम्पनीसहित अपर तामाकोसी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा नेप्से उच्च अंकले बढेको हो ।

आज नेपसेमा सबै उपसूचकमा हरियाली छाउँदा हाइड्रोपावर र अन्य उपसूचकले लिड गरेको छ । नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा बन्द हुँदा सोही कम्पनी रहेको अन्य उपसूचक पनि ५.९१ प्रतिशत र हाइड्रोपावर उपसूचक ५.३९ प्रतिशतले बढेको छ । यस्तै, वित्त कम्पनी उपसूचक ३.२१ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.९० प्रतिशतले बढेको छ ।

पछिल्लो सेयर मूल्यमा तीव्र उतारचढाव भइरहेको महालक्ष्मी विकास बैंकको कारोबार पनि उच्च रकमको भइरहेको छ । आज पनि बजारमा महालक्ष्मी विकास बैंककै सर्वाधिक ३७ करोडको कारोबार भएको छ । यस्तै, नेसनल हाइड्रोपावरको ३० करोडको कारोबार हुँदा अपी पावरको २३ करोड र लुम्बिीनी विकास बैंकको १८ करोड तथा नेपाल दूरसञ्चार कम्पनीको १६ करोडको कारोबार भएको छ ।

आज नेप्सेमा आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्यमा सर्किट लाग्नेमा नेपाल बंगलादेश बैंक, नेपाल दूरसञ्चार कम्पनी, महालक्ष्मी विकास बैंक, पञ्चकन्या माइ हाइड्रोपावर, अपर तामाकोसी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनी रहेका छन् ।

यता, विजय लघुवित्तको सेयर मूल्य सर्वाधिक २.३७ प्रतिशतले घट्दा, मिथिला लघुवित्तको सेयर मूल्य १ प्रतिशत र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ०.९५ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा १८७ कम्पनीको सेयर कारोबारमा आएकोमा १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य घटेको छ । एक कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

Author:



क्याटोगरी छान्‍नुहोस