वृद्ध दम्पतीको हत्या प्रकरणः ३ वर्षमा ३ एसपी फेरिए तर घटना अझैं रहस्यमै

राजविराज, २ मंसिर । सप्तरीमा एक वृद्ध दम्पतीलाई आफ्नै घरमा जलाएर हत्या गरिएको घटनाको तीन वर्ष वित्न लागेको छ । हत्या घटनाको अनुसन्धानमा सुरु गरेका तीन जना प्रहरी उपरीक्षक (एसपी) फेरिएका छन् । तर, घटना अझै रहस्यमै छ ।

०७५ फागुन १४ गते खडक नगरपालिका–५ खरचुहिया बजारमै घरमा सुतिरहेका ७५ वर्षीय सबुरी साह र उहाँकी ६५ वर्षीया पत्नी बेचनी देवी साहको जलाएर हत्या भयो । मृत शरीर पूर्ण रुपमा जलिसकेकाले ईलाका प्रहरी कार्यालय कल्याणपुर र कडरबोना तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेका थिए ।

घरभित्र र आँगनभरि ठाउँ–ठाउँमा देखिएको रगतको थोपाले वृद्ध दम्पतिको हत्या नै भएको विषय प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पुष्टि गरेको थियो । ब्याजमा ऋण दिँदै आएका साह दम्पतिलाई डकैती गर्ने नियतले आएका लुटेराहरुले हत्या गरेको हुनसक्ने तत्कालीन एसपी राजेन्द्र विष्टले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएका थिए ।

हत्याको वास्तविकता र हत्याराको पहिचान गरी हत्यारालाई कानूनी दायरामा ल्याउन प्रदेश प्रहरी कार्यालयका विशेष अनुसन्धान टोली र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फोरेनसिक टिमको सहायतामा अनुसन्धान अगाडी बढाइएको थियो । हत्यारालाई अति छिटो पत्ता लगाउन तालिम प्राप्त कुकुरको सहायताले पनि सुक्ष्म अनुसन्धान थालियो ।

शरीर पूर्ण रुपमा जलिसकेकोले वृद्ध दम्पतिको डिएनए परीक्षण गर्न पनि पठाइयो । सो क्रममा प्रदेश ब्युरो अनुसन्धान टोलीबाट ५, सप्तरी प्रहरीबाट ५ र थप २० सुरक्षाकर्मीको विशेष टोलीले केहि सातासम्म घटनास्थलमै बसेर शंकास्पद व्यक्तिलाई सोधपुछ, खानतलासी, कल डिटेल चेक लगायत अनुसन्धानका धेरै पाटोमा कार्य गरे । अनुसन्धान जारी नै थियो ।

०७६ जेठ ७ एसपी विष्टको सरुवा हुन गयो र जेठ १७ गते नयाँ एसपीको रुपमा मनोज यादव आए । त्यसपछि घटना सेलाउँदै गयो र अनुसन्धान पनि नामका लागि जारी नै रह्यो । उनी पनि भदौ १७ सरुवा भए र भदौ १८ गते एसपीमा कृष्ण प्रसाईं आए । प्रसाईं पनि एक वर्ष बसेर ०७७ भदौ ९ गते सरुवा भए । तर अनुसन्धान भने ज्यूका त्यू नै रह्यो ।

घटनाको तीन वर्ष वित्नै लाग्दा पनि पीडित परिवारले न्याय पाउन सकेको छैन् । लामो समय भइसक्दा पनि पीडित परिवारले न्याय नपाएपछि यहाँका नागरिक समाजले प्रहरीमाथि प्रश्न उठाउन थालेका छन् । ‘ज्यादै दुःखद् विषय हो, विर्भत्स हत्या हुन्छ र प्रहरीले अनुसन्धानकै नाममा वर्षौ हेरेर बस्छन्’ नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादवले भने–‘समाजमा शान्ति सुरक्षा कायम राख्नमा प्रहरीले तत्परता देखाउनुपर्ने थियो, तर यसरी वर्षौसम्म प्रहरीले चुप लागेको हेर्दा प्रहरीको काविलियतमाथि पनि प्रश्न उठेको छ ।’

उता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव प्रसाद काफ्लेले हत्या घटनामा अनुसन्धान भइरहेको बताए । ‘अनुसन्धानको क्रममा हामीले दर्जनभन्दा बढी व्यक्तिहरुसँग सोधखोज गरे, शंकाको घेरमा रहेका केही व्यक्तिहरु भारत पुगेको पनि बुझियो’ उनले भने–‘डिएनए परीक्षणको रिपोर्ट पनि आइसकेको छ तर शंकाको घेरामा रहेका व्यक्ति भारततर्फ रहेकाले अनुसन्धान अघि बढाउन सकेको छैन् ।’

Author:



क्याटोगरी छान्‍नुहोस