विरोधमा पेशी/वकपत्र स्थगित

राजविराज । राजविराज उच्च अदालत बार एसोसिएसनले आफ्नो विरोधको कार्यक्रम जारी राख्दै स्थानीय अदालतहरूमा बिहीबार र शुक्रबारको लागि निर्धारित पेशी तथा बकपत्रका कार्यबाहीहरू स्थगित गराएको छ ।

नेपाल बारले प्रधानन्यायाधीश चौलेन्द्र समसेर जबराको राजीनामा माग गर्दै तीन सातादेखि प्रदर्शन गर्दै आएको छ । बिहीबार सर्वोच्च अदालतमा प्रदर्शनकारी कानून व्यवसायीहरूमाथि भएको दमनको विरोध गर्दै स्थानीय बारले स्थानीय उच्च अदालत र जिल्ला अदालतका पेशी तथा कानून व्यवसायी उपस्थित हुनुपर्ने अन्य कामकारबाहीहरू स्थगित गराएको हो । उच्च अदालत बारका सचिव मो. समिम अख्तर अलिले उच्च अदालत जनकपुर राजविराज इजलास तथा सप्तरी जिल्ला अदालतलाई बिहीबार एक पत्र लेखी बिहीबार र शुक्रबारको पेशीलगायतका कामकारबाही स्थगित गराएका हुन् । विरोध कार्यक्रमको क्रममा बिहीबार सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीमाथि भएको दमनको घोर भत्र्सना गर्दै सोको विरुद्ध बिहीबार र शुक्रबारका दिनहरूमा तोकिएको बन्दीप्रत्यक्षीकरण र थुनछेकबाहेकका सम्पूर्ण पेशी तथा बकपत्र स्थगित गरी दिन उक्त पत्रमार्फत अनुरोध गरिएको छ ।

उच्च अदालत जनकपुर राजविराज इजलास तथा सप्तरी जिल्ला अदालतका बार एसोसिएसनहरूले गत आइतबारदेखि आआफ्नो अदालतको प्रवेशद्वारमा ११ बजेदेखि १२ बजेसम्म धर्ना दिँदै एक घन्टा अदालतको काम रोक्दै आएका छन् । बिहीबारको धर्नापछि दुबै अदालतका ती कामकारबाही स्थगित गर्न पत्र पठाइएको थियो ।

उता, नेपाल बार एसोसिएसनले बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्वघोषित शान्तिपूर्ण धर्ना कार्यक्रममा सर्वोच्च अदालत परिसरभित्र दंगा प्रहरीद्वारा भएको बर्बरतापपूर्ण आक्रमणमा परी नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, अधिवक्ता प्रकाश महर्जन, वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, अधिवक्ताहरू ऋषिराम घिमिरे, कपिलचन्द्र पोखरेल, युवराज बन्जाडे, नितेश श्रेष्ठ, रमणलाल कर्ण, गोपाल श्रेष्ठ घाइते भएको जनाएको छ ।

भ्रष्टाचार, असक्षम र नैतिकताविहीन कार्यमा संलग्न प्रधानन्यायाधीशको राजीनामा माग गर्दै भइरहेको पूर्वनिर्धारित कार्यक्रममा यसअघि नै दंगा प्रहरी प्रवेश गराइएकोमा आज पहिलो पटक दंगा प्रहरीका साथ एस.एल.आर. जस्तो युद्धको बेला प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्धको मैदान बनाउने कार्यको भत्र्सना र निन्दा गर्दै नेपाल बारले आफ्नो विज्ञप्तिमा उक्त आक्रमणको अनुसन्धान र आगामी कार्यक्रमहरूको अनुगमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै मानवअधिकार संघसंस्थाहरूलाई आह्वान गरिएको छ । बारले शुक्रबारको विरोध प्रदर्शन थप सशक्त बनाइने पनि जनाएको छ ।

यसैबीच प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरूसहित पत्रकार, इन्जिनियर र चिकित्सकहरूको सञ्जाल गठन गरिएको बिहीबार पत्रकार सम्मेलनमार्फत् जनाइएको छ । नेपाल बार एसोसिएसनको आन्दोलनलाई साथ दिन भन्दै शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) गठन भएको बताइएको छ । पत्रकार महासंघ र चिकित्सक संघले यसअघि नै बारको आन्दोलनप्रति छुट्टाछुट्टै ऐकवद्धता जनाएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस