सप्तरीमा बस दुर्घटना अपडेट : मृत्यु हुनेमा सिंह र बस्नेत

राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरमा आज साँझ बसले हायसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा हायसमा सवार काठमाडौँ बस्ने ३८ वर्षीय ग्रीसमान सिंह र विराटनगर बस्ने ४१ वर्षीय चूडाबहादुर बस्नेत रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । सिंहको घटनास्थलमा नै मृत्यु भएको छ भने बस्नेतको विराटनगरस्थित गोल्डेन अस्पतालमा लगिँदै गर्दा अस्पताल नजिक ज्यान गएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा गम्भीर दुई जनासहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र बाँकीको कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको बा४ख ५०७९ नम्बरको हायसलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ४६९२ नम्बरको बसले ठक्कर दिएको थियो । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।

Author:

क्याटोगरी छान्‍नुहोस