भारतमा तीव्र गतिमा फैलियाे ओमिक्रोन, नेपालमा बढ्याे सन्त्रास

जनकपुरधाम । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिएको छ । समाचार एजेन्सी एनएनआईका अनुसार आइतबार मात्रै भारतमा १७ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

आइतबारसम्म भारतमा ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या २१ पुगेको छ । समाचारमा जनाइएअनुसार आइतबार महाराष्ट्रमा ७ राजस्थानमा ९ र दिल्लीमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि भारतमा चार जना मात्रै संक्रमित थिए । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्टबारे लगातार चिन्ता व्यक्त गरिरहेका बेला नेपालको छिमेकी मुलुक भारतमा तीव्र गतिमा भाइरस फैलिन थालेको हो ।

गएको शुक्रबार विश्व स्वास्थ्य संगठनले संक्रमणका हिसाबले यो नयाँ भेरियन्टले डेल्टा भेरियन्टलाई पछि पार्न सक्ने भन्दै चेतावनी जारी गरेको थियो ।

नेपालमा पनि यसको सम्भावित जोखिम रोक्न बेलैमा सचेतना अपनाउनुपर्नेमा विज्ञहरू जोड दिइरहेका छन् । जनस्वास्थ्यविद् शरद वन्तले बेलैमा सावधानी अपनाएर सम्भावित जोखिम रोक्नुपर्ने बताए ।

कोरोनाको नयाँ भेरियन्ट सर्वप्रथम दक्षिण अफ्रिकामा पहिचान भएको थियो । पछिल्लो समय भारतसहित अमेरिका, जापान, बेलायत, बेल्जियम, जर्मनी, इजरायल, अस्ट्रेलिया, हङकङजस्ता देशमा यसको पहिचान भइसकेको छ ।

कैयौँ देशहरूले दक्षिण अफ्रिकासँगको यात्रा प्रतिबन्ध लगाइसकेका छन् । नेपालमा पनि दक्षिण अफ्रिकाबाट आउने नागरिकलाई प्रतिबन्ध लगाइएको छ ।

प्रारम्भिक अध्ययनले ओमिक्रोन भेरियन्ट बढी संक्रामक हुन सक्ने देखाएको छ । यद्यपि वैज्ञानिकहरूले निकै द्रुत गतिमा यसको स्वभाव, संक्रमण दर, खोपको प्रभावकारितामाथि अध्ययन गरिरहेका छन् ।

यसअघि देखिएको बेटा र डेल्टा भेरियन्टको क्रमश: ३ पटक र २ पटक मात्र उत्परिवर्तन भएको थियो । डेल्टा भेरियन्टकै कारण भारतमा दोस्रो लहरका बेला ठूलो क्षति पुगेको थियो । यसको असर नेपालले पनि भोग्नुपरेको थियो । अहिले भारतमा ओमिक्राेन फैलिन थालेपछि नेपालमा पनि भित्रिन सक्ने भन्दै सन्त्रास बढेकाे छ ।

Author:



क्याटोगरी छान्‍नुहोस