नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी

जनकपुरधाम, १४ माघ । दुई सातादेखि आन्दोलनरत रेल्वे कर्मचारी संघर्ष समितिले शुक्रवार नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेको छ ।

पुराना कर्मचारीहरुलाई पुनर्बहाली गर्न माग गर्दै आन्दोलनरत उनीहरुले जनकपुरधामस्थित रेल्वे स्टेशनमा रहेको नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन् । दुई सातादेखि विरोधका कार्यक्रम गर्दै आएता पनि सुनुवाइ भएपछि बाध्य भएर तालाबन्दी गर्नु परेको उनीहरुको भनाई छ ।

संघर्ष समितिमा आवद्ध दिलिप साहका अनुसार जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउन जाँदा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई कोरोना संक्रमण भएको भन्दै समस्या समाधान गर्न आलटाल गर्दै आएको बताए ।

गत पुस २७ गते महाप्रबन्धक झाले रेल संचालनका लागि ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेल सम्बन्धी तालिम लिइसकेका कर्मचारीहरु आन्दोलित भएका हुन् । यसअघि कम्पनीका पूर्व महाप्रबन्धक गुरुप्रसाद भट्टराईले रेल सञ्चालनका लागि १ सय ५१ जना कर्मचारीलाई नियुक्त गरी तालिम समेत दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस