उखुबारी हत्याकाण्ड : मोरङबाट थप दुई आरोपी पक्राउ

विराटनगर, २२ माघ । मोरङको धनपालथान–७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुई जना र ललितपुरको ठोचेमा एक जनालाई हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–३ आमतोलाका ३३ वर्षीय मो. सुभाम र सुनसरी देवागन्ज गाउँपालिका–६ जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् । शुक्रवार पक्राउ परेका दुवै जनालाई मोरङ्ग प्रहरीले शनिवार सार्वजनिक गरेको हो ।

हिजो मात्रै प्रहरीले सोही हत्यामा संलग्न रहेको आरोपमा मोरङको जहदा गाउँपालिका–४ सिस्वनीका २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, सिरहाको सिरहा नगरपालिका–२१ घर भई हाल काठमाडौं बल्खु बस्ने ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङकै धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरि सार्वजानिक गरेको थियो ।

गत माघ १२ गते मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र माघ १३ गते सुनसरीको धरान उपमहानगरपालिका–३ का ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको गाडिएको अवस्थामा शव फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका–८ गोठाटारका तेह्रथुम सक्रान्ति–२ घर भएका ६३ वर्षीय मोहन लिम्बुको पनि हत्या गरी गाडिएको भनि खुल्न आएपछि महानगरीय अपराध महाशाखा काठमाडौंसँग समन्वय गरी ललितपुर गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलस्थित गोदाम घर रहेको कम्पाउण्डमा उनको शव फेला परेको हो ।

कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले उनीहरुको हत्या गरिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेपछि घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस