मधेश सरकारको निर्णयः हावाहुरीले मृत्यु भएका परिवारलाई एक–एक लाख दिने

राजविराज, २२ माघ । मधेश प्रदेश सरकारले हावाहुरी कारण मृत्यु भएका परिवारलाई राहत स्वरुप एक/एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आज (शनिवार) बसेको मन्त्रीपरिषद्को बैठकले धनुषाको सबैला नगरपालिकाका दुई र रौतहटको बौधीमाई नगरपालिकाका एक गरी तीन परिवारलाई एक/एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

मृतक परिवारलाई राहत स्वरुप एक/एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

हिजो (शुक्रवार) हावाहुरीका कारण धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालय परिसरमा रहेको रुख ढलेर किच्दा ७ वर्षिय अरबन्दी सदा र ८ वर्षीया प्रतिमा कुमारी सदाको मृत्यु भएको थियो ।

त्यस्तै, रौतहटको बौधीमाई नगरपालिका–१ मा पनि हावाहुरीले ईट्टाको घर खस्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस