डाक्नेश्वरी नगरपालिकाको ५७ कोठे कार्यालय भवन

राजविराज, २५ फागुन। सप्तरीको डाक्नेश्वरी नगरपालिकाको ५७ कोठे आफ्नै सुविधा सम्पन्न कार्यालय भवन तयार भएको छ । यसअघि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो ।

सप्तरी निर्वाचन क्षेत्र नम्वर ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले निःशुल्क उपलब्ध गराएको ५ करोड मूल्य बराबरको १० कठ्ठा जग्गामा नगरपालिकाको कार्यालय भवन तयार भएको हो ।

पाँच करोड ७० लाख रुपैयाँको लागतमा निर्माण भएको सो नवनिर्मित भवनको बुधवार एक समारोहका बीच प्रतिनिधिसभा सदस्य चौधरीले उद्घाटन गरेका छन् । चौधरीले यसअघि पनि सो क्षेत्रमा हाटबजार, स्वास्थ्य संस्था, विद्यालय, प्रहरी चौकी, खानेपानी कार्यालय र खेलमैदानका लागि जग्गा दान गरी दानबीरको उपाधी पाएका हुन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवले नगरपालिकाको आफ्नो भवन नहुँदा विगत लामो समयदेखि प्रति महिना ६० हजार घर भाडा तिरेर कार्यालयको कामकाज सञ्चालन हुँदै आएकोमा अब आफ्नै भवन हुँदा अनावश्यक खर्च घट्नुका साथै सेवा प्रवाहमा सहज हुने बताए । नगर प्रमुख शिवनारायण साहले दाता चौधरीको सम्मान गर्दै नगरवासी सदा उहाँको अभारी रहने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य विदेश्वर यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादव, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश झा, पत्रकार महासंघका जिल्ला सचिव चन्दन यादव लगायतले बोलेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस