‘चिकित्सकको लापर्वाहीले नवजात शिशुको ज्यान गयो’

राजविराज, २३ चैत । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बुधवार विहान एक नवजात शिशु (छोरा)को मृत्यु भएपछि आफन्तजन आक्रोशित बनेका छन् । उनीहरुले अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.दिलीपकुमार साहको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका हुन् ।

गर्भवती अवस्थामा विगत पाँच महिनादेखि जिल्लाको बोदे बरसाइन नगरपालिका–७ हैठीकी २९ वर्षीया पुनिता कुमारी यादवले मेसु डा.साहकै ‘प्रसुति तथा स्त्री रोग क्लिनिक एण्ड डाइगनोष्ट्रिक डी. सेन्टर राजविराज’ नामक निजी क्लिनिकमा जाँच गराउँदै आएकी थिइन् । बुधवार व्यथा लागेपछि पुनितालाई प्रसूति गराउन विहान अस्पताल ल्याएर भर्ना गरिएको थियो ।

‘विहान पनि डा.साबले सबै ठिक छ नै भन्नुभयो तर प्रसूति गराउने बेलामा उहाँ (चिकित्सक) हरुले गम्भीरता देखाउनुभएन’ पुनिताका देवर निरजकुमार यादवले भने–‘डा.साह र यहाँका चिकित्सकहरुकै लापरवाहीले शिशुको मृत्यु भयो ।’

मेसु डा.साहकै सल्लाहअनुसार गर्भवति भाउजूलाई जाँचहरु गराउँदै आएतापनि सफल प्रसूति गराउनेतर्फ चिकित्सकहरुले लापरवाही गर्दा सो घटना हुन गएको यादवको कथन छ । ‘क्लिनिकमा यतिका पैसा खर्च गराउनुभयो, केही समस्या नै थियो भने कम्तिमा हामीलाई सल्लाह दिनुपर्ने थियो तर आज विहानसम्म सबै ठिक छ नै भन्नुभयो’ उनले भने ।

उनले घटनाको छानबीन र दोषी चिकित्सकलाई कारवाही हुनुपर्ने माग गरे ।

उता, मेसु डा.साहले बच्चा जन्मिदा सबै ठिकै रहेता पनि ‘मिकोनियम’ भएर शिशुको मृत्यु भएको बताए । ‘अस्पतालको तर्फबाट कुनै प्रकारको लापरवाही भएको छैन्’ उनले भने–‘डिलेभरी भएसँगै ‘मिकोनियम’ अर्थात बच्चाको दिसा मुख हुँदै स्वास नलीमा मिसिएर बच्चाको मृत्यु हुन गयो ।’

Author:



क्याटोगरी छान्‍नुहोस