आयल निगम आर्थिक संकटमा

जनकपुरधाम । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धि भएर मूल्य स्थिरीकरण लगायत सबै सञ्चिति कोषको रकम सकिएपछि नेपाल आयल निगम आर्थिक संकटमा परेको छ । इन्धन बिक्री गरेको रकमले मात्र इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई भुक्तानी गर्न सक्ने अवस्था छैन।

निगमसँग भएका सबै सञ्चिति कोष रित्तिएपछि आइओसीलाई भुक्तानी गर्न निगमले ऋण लिनुपर्ने अवस्था सिर्जना भएको हो । निगमलाई आर्थिक संकटबाट जोगाउन दुईवटा विकल्प रहेको सरोकारवाला बताउँछन् । कि सरकारले लागत मूल्यको आधारमा इन्धनको मूल्य बढाउन दिनुपर्छ कि उसले इन्धनमा लगाउँदै आएको कर घटाउनुपर्छ । लागत मूल्यका आधारमा इन्धनको मूल्य बढाउँदा उपभोक्ता चर्को मारमा पर्ने भएकाले सरकारले कर घटाएर निगमलाई आर्थिक संकटबाट जोगाउनुपर्छ ।

निगम आर्थिक संकटमा पर्दा आइओसीबाट इन्धन खरिद गर्न कठिन भएर त्यसको मार उपभोक्तासम्म पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ्दा निगमले साढे आठ महिनाको अवधिमा करिब ३३ अर्ब रुपैयाँ नोक्सान बेहोरेको छ । निगमले यसैसाता आइओसीलाई इन्धन खरिदबापत १९ अर्ब ४७ करोड रुपैयाँ भुक्तानी दिनुपर्छ । निगमसँग हाल १५ अर्ब रुपैयाँमात्रै छ । यो पटकका लागि सरकारले मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २० करोड रुपैयाँ दिएको छ । मूल्य स्थिरीकरण कोषको रकम सकिएकाले निगमले अर्को महिना आइओसीलाई भुक्तानीका लागि ऋण लिनुपर्ने अवस्था आएको छ ।

आइओसीलाई भुक्तानी गर्न अब ऋण लिनेबाहेक उपाय नभएको निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए । ‘दुई अर्ब रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिने प्रक्रिया सुरु गरेका छौं,’ थानीले भने, ‘फाइल अर्थ मन्त्रालयमा पुगेको छ ।’
निगम नोक्सानमा जाँदा काम चलाउन सञ्चित गरिएको मूल्य स्थिरीकरण कोषको रकम पनि सकिएपछि आइओसीलाई भुक्तानी गर्नुपर्ने रकमका लागि ऋण लिनुपर्ने अवस्था सिर्जना भएको हो । इन्धन खरिद गर्न निगमले नियमित बाहेक कर्मचारी आवास व्यवस्थापनको तीन अर्ब २६ करोड, विक्रेता तथा जहाज कम्पनीको धरौटीबापतको एक अर्ब ४५ करोड, कर्मचारी बोनस शीर्षकमा रहेको तीन अर्ब ४७ करोड र ह्राष कोषको एक अर्ब ४२ करोड रूपैयाँ पनि खर्च गरिसकेको छ ।

डिजेल, पेट्रोल, मटीतेल, खाना पकाउने ग्यासको मूल्यवृद्धि गर्दा पनि १५ दिनमै निगमको घाटा चार अर्ब ६३ करोड रुपैयाँ छ । निगमले मंगलबार पेट्रोल, डिजेल र मटीतेलमा प्रतिलिटर ५ तथा ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले मूल्य बढाएको थियो । मूल्य बढेपछि पेट्रोल प्रतिलिटर एक सय ६०, डिजेल र मटीतेल एक सय ४३ तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुगेको छ । मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल लिटरमा २२ रुपैयाँ ९८ पैसा, डिजेलमा २८ रुपैयाँ, खाना पकाउने एलपी ग्यास सिलिन्डरमा नौ सय ३२ रुपैयाँ घाटा छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस