पत्रकार यादवमाथि दुर्व्यवहार घटनाको भत्र्सना

राजविराज । सप्तरीको राजविराजस्थित क्षितिज कलेजमा भएको शिक्षक छनोट परीक्षामा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि भएको हातपात र दुर्व्यवहार घटना प्रति प्रेस चौतारी नेपाल, सप्तरीले भत्र्सना गरेको छ ।

चौतारी सप्तरीका कार्यवाहक अध्यक्ष डम्बर राईले विज्ञप्ति जारी गर्दै पत्रकार नवीनकुमार यादवमाथि भएको सो घटनाले प्रेस स्वतन्त्रता हनन् भएको भन्दै दोषीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा माग गरिएको छ ।

‘पत्रकार यादवलाई क्षितिज कलेजका संस्थापक अध्यक्ष केशव झा र कार्यालय सहयोगी बाबुनन्द यादवले गालीगलौज र हातपात गर्दै सञ्चार सामग्री समेत खोसेर दुर्व्यवहार गरेको प्रति चौतारी खेद प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पहल गरिदिनहुन् नेपाल पत्रकार महासंघ शाखा सप्तरीसँग समेत आग्रह गरिएको छ ।

यादवका अनुसार तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गत रहेको शिक्षक छनोट समितिले सोही गाउँपालिकास्थित लक्ष्मी बल्भ नरसिंह विद्यालयमा करार शिक्षक नियुक्ती गर्न विहिवार लिखित परीक्षा सञ्चालन गरिएको थियो ।

सो परीक्षामा धाँधली भएको भन्दै जानकारी प्राप्त भएपछि परीक्षा केन्द्रमा पुग्दा गाउँपालिकाका कर्मचारीहरुको निर्देशनमै घटना घटाएको सिएफएम र लाइभनेपाल टिभीमा कार्यरत रहेका यादवले मधेशलाइभलाई बताए ।

उता, गाउँपालिकाका सूचना अधिकारी राजेश झाले सो घटनामा गाउँपालिकाको कर्मचारीको कुनै संलग्नता नरहेको बताए । ‘त्यहाँ हाम्रो कर्मचारी नै थिएन, गाउँपालिका र कर्मचारीको बदनाम गर्ने काम मात्रै भयो’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस