‘डिजिटल’ प्रचारप्रसारको प्रतिस्पर्धामा उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले ‘डिजिटल’ प्रचारप्रसारको माध्यमलाई तीव्रता दिएका छन् ।

फेसबुक, ट्वीटर, टिकटक, युटुब, भाइबर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालबाट उम्मेदवारहरू आफ्ना प्रतिबद्धता व्यक्त गर्दै मत मागिरहेका छन् । निर्वाचनलाई आधार मानेर बनाइएका गीत पनि सामाजिक सञ्जालमा ‘अपलोड’ गरिरहेका छन् । यसका लागि उनीहरूले लाखौं रुपैयाँ खर्च गरिरहेका छन् ।

राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धता व्यक्त गर्दै आफ्ना उम्मेदवारलाई मतदान गर्न अपिलसमेत गरिरहेका छन् । अहिले सामाजिक सञ्जालभरि उम्मेदवारका प्रचारप्रसार तीव्र रूपमा भइरहेको छ ।

पहिलापहिलाको निर्वाचनमा पोस्टर बनाएर गाउँघरको भितामा टाँस्ने गरिन्थ्यो । तर अहिले त्यो शैली हराएको छ । राजनीतिक दलहरूले आईटी तथा सामाजिक सञ्जाल चलाउन जान्नेलाई मोटो रकम तिरेर आफ्ना उम्मेदवारको प्रचारप्रसार गराइरहेका छन् । मिडिया सेन्टर स्थापना गरेर उनीहरूले विभिन्न भाषा तथा शैलीमा प्रचारप्रसार गरिरहेका देखिन्छ ।

राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण पोखरेलले बदलिँदो समयअनुसार मतदातालाई रिझाउन राजनीतिक दलले समेत आफ्नो प्रचार शैली परिवर्तन गरेको बताए । पहिलेकै शैलीमा प्रचारप्रसार गर्दा प्रभावकारी नहुने देखिएपछि उम्मेदवार मोटो रकम खर्च गरेर भए पनि डिजिटल शैलीमा प्रचारप्रसार गरिरहेको उनको भनाइ छ । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस