भ्रष्टाचार र वेथिति विरुद्ध मेरो उम्मेदवारीः खेमचन्द्र

राजविराज, २१ वैशाख । सप्तरीको बलान विहुल गाउँपालिकामा जनमत पार्टीबाट अध्यक्षको उम्मेदवार खेमचन्द्र यादवले आफ्नो उम्मेदवारी भ्रष्टाचार र वेथितिका विरुद्ध रहेको बताएका छन् ।

चुनावी अभियानका क्रममा घरमा व्यस्त रहेका उनले छोटो समय निकालेर मधेशलाइभसित कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘भ्रष्टाचार, वेथिति, दमन, उत्पीडन अति भो’ उनले भने–‘त्यसैलाई सुधार्ने उद्देश्यकासाथ म चुनावी मैदानमा होमिएको हुँ ।’

जिल्लाको विकट एवम् अति पिछडिएका क्षेत्रको रुपमा रहेको बलान विहुल गाउँपालिकाका जनताले गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचार, कृषि लगायत कुनै पनि क्षेत्रमा परिवर्तनको अनुभूति पाउन नसकेको कारणले विकास तथा वेथिति सुधार्न आफु प्रत्यनसिल रहने योजना उनले सुनाए ।

शिक्षा र स्वास्थ्य जनताको नैसर्गिक अधिकार भए पनि बलान विहुलमा त्यसको ठुलो अभाव रहेको उनले बताए । ‘अवस्था यस्तै लथालिंङ्ग राख्ने हो भने जनताले विकासको प्रत्याभूति पाउन सक्दैनन्’ उनले थपे–‘यस्ता कुरामा सुधार हुनुपर्ने सोचका साथ यस पटक आफ्नै गाउँठाउँको नेृतत्व लिन म अघि सरेको हुँ ।’

आफुले जनताको आर्शिवाद बाहेक अंग्रेजी माध्यममा पठनपाठन र प्राविधिक शिक्षाको व्यवस्था मिलाउने, गाउँपालिकामा एउटा नमूना अस्पताल स्थापना गर्ने, कृषि क्षेत्रको सुधारका लागि काम गर्ने सोच लिएको उनले जानकारी दिएका छन् । अधिकांश जनता कृषिमा निर्भर भए पनि मलखाद्यको समस्याबाट मुक्त हुन नसकेको बताउँदै उनले गाउँपालिकास्तरबाटै खेतीको बेलामा रसायनिक मलको सरल सुलभ रुपमा व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।

Author:



क्याटोगरी छान्‍नुहोस