मधेश प्रदेशमा २ हजार ९९ मतदान केन्द्र अति संवेदनशील

जनकपुरधाम । सरकारले स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ । बैशाख ३० गते हुन लागेको निर्वाचनको सुरक्षाका लागि ७२ घण्टाअघि नै सीमानाका बन्द गरिएको छ भने भयरहित मतदानका लागि सुरक्षा व्यवस्थालाई कडा पारिएको हो ।

मधेश प्रदेशमा रहेका १ हजार ६३ वटा मतदानस्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । जसमध्ये सबैभन्दा बढी धुनषाका १८३ वटा मतदान स्थल र ३३४ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ ।

त्यस्तै, सप्तरीमा २०८ मतदानस्थल र ३८० मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ । सिरहामा १७० वटा मतदानस्थल र ३८२ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा रणनीतिअनुसार प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै, महोत्तरीका ११० मतदानस्थल, २१४ मतदान केन्द्र, सर्लाहीका १०३ मतदानस्थल र २०५ मतदान केन्द्र, रौतहटमा ८३ वटा मतदान स्थल र १६१ मतदान केन्द्र, बारामा १४४ वटा मतदान स्थल र २५६ वटा मतदान केन्द्र र पर्सामा ६२ वटा मतदानस्थल तथा १६७ मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको छ ।

प्रदेशका ८ सय ८८ वटा मतदानस्थल र १ हजार ६ सय ८६ वटा मतदान केन्द्रलाई संवेदनशील रूपमा वर्गीकरण गरिएको छ । जम्मा २ हजार १ सय ६३ वटा मतदानस्थल र ४ हजार १ सय ८९ वटा मतदान केन्द्र रहेकोमा २ सय १२ वटा मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्रलाई सामान्यमा राखेर सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस