खडकका मेयर थारुको पहिलो निर्णयः सरकारी स्कुलका विद्यार्थीलाई निःशुल्क पोशाक

राजविराज, १६ जेठ । सप्तरीको खडक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जयप्रकाश चौधरी थारुले नगरभरका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क पोशाक प्रदान गर्ने सहितका तीन वटा निर्णय गरेका छन् ।

पदभार ग्रहणपछि सोमवार मेयर थारुले पहिलो निर्णय नगरभरका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पाइन्ट, शर्ट, जुत्ता र टाईसहितको पोशाक निःशुल्क प्रदान गर्ने निर्णय गरेका हुन् ।

‘पहिलो चरणमा प्राथमिक तहमा, दोस्रो चरणमा निम्न माध्यमकमा र तेस्रो चरणमा माध्यमिक तहका विद्यार्थीहरुलाई पोशाक निःशुल्क प्रदान गरिनेछ’ प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले भने–‘आगामी वर्षको शिक्षा क्षेत्र अन्तर्गत पोशाकको लागि बजेट छुट्याइनेछ ।’

त्यस्तै, नगरभरिका गर्भवती महिलाहरुका लागि भिडिओ एक्सरे सेवा निःशुल्क र नगर बाहिरकालाई ५० प्रतिशत शुल्क लिई सेवा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए । ‘भिडिओ एक्सरे मेसिन खरिद भइसकेको छ’ उनले भने–‘सो सेवा सुरु गर्नका लागि केही समय लाग्छ ।’

त्यस्तै, नगरपालिका अन्तर्गतका कार्यालयहरुमा सीसी क्यामेरा र विद्युतीय हाजिरी प्रणाली जडान गरी अनलाइन सुपरीवेक्षण र अनुगमनको व्यवस्था गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने निर्णय भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस