सप्तरीमा बस पल्टियो, एकको मृत्यु, एक दर्जन घाइते

राजविराज, ९ असार । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा विहिवार सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक दर्जन व्यक्ति घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कंकालिनी मन्दिर–कोशी ब्यारेज सडक खण्डमा ना ५ ख १८९८ नम्वरको यात्रुवाहक बस अनियन्त्रित भएर सडकबाट २० फिट तल झरेको हो । विराटनगरबाट कटारीका लागि हिँडेको सो बस दुर्घटनामा परेर नाम खुल्न नसकेकी ५५ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा बसका सहचालक झापाको मेची नगरपालिकाका ३८ वर्षीय पदम बहादुर राई, सुनसरीको ईनरुवा नगरपालिका–१ की ३० वर्षीया रिकुं कुमारी यादव, सोही ठाउँका ३३ वर्षीय रविन खड्गा, बराहक्षेत्र नगरपालिका–५ का १८ वर्षीय निर्मल दाहाल घाइते भएका छन् ।

त्यस्तै, सप्तरीको कन्चनरुप नगरपालिका–३ का १८ वर्षीय आलोक कुमार सेख, वडा नम्वर ८ का १७ को बिबेककुमार साह, २ की २० वर्षीया अस्मना खातुन घाइते भएका छन् । मोरङको विराटनगर उपमहानगरपालिका–१३ की ३३ वर्षीया प्रमिला राई घाइते भएका हुन् ।

त्यस्तै, दुर्घटनामा परेर उदयपुरको कटारी नगरपालिका–३ का ७० वर्षीय मान बहादुर तामाङ, उनकी श्रीमती ६९ वर्षीया बिष्णु कुमारी तामाङ र सोही जिल्ला चौदन्डिगढी नगरपालिका–६ का ४० वर्षीय सिताराम रसाईली घाइते भएका छन् ।

घाइतेमध्ये मान बहादुर तामाङ दम्पति, आलोक र पदबहादुरको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस