व्यक्तिगत घटना समयमै दर्ता गर्न उपमेयर प्रविणको आग्रह

सप्तरी । राजविराज नगरपालिकाकी उपमेयर इसरत प्रविणले समयमै व्यक्तिगत घटना दर्ता गराउने बारे गाउँस्तरमा जनचेतना पुर्याउनु आवश्यक रहेको बताएकी छिन् । उनले नगरपालिकामा आयोजना गरिएको ‘व्यक्तिगत घटना दर्ता सम्बन्धी एक दिने अन्तरक्रिया’ कार्यक्रममा यस्तो बताएकी हुन् ।

‘व्यक्तिगत घटना दर्ता व्यक्तिको कानूनी पहिचान र प्रमाण पनि हो र घटना दर्ता नगराउदा धेरै जसो ठाउँमा नागरिकलाई आफ्नो अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था पनि आउनसक्छ’ उनले भनिन्–‘ती कानून पहिचान नागरिकले समयमै पाउन् भन्नका लागि समयमै व्यक्तिगत घटना दर्ता गराउन नागरिकलाई पनि सचेत हुनु जरुरी छ ।’

उनले कतिपय नागरिकलाई व्यक्तिगत घटना दर्ता बारे जानकारी नरहेको र त्यसको कारणले समस्या भइरहेकाले सो बारे जनचेतना पुर्याउनु आवश्यक रहेको बताइन । ‘कुनै पनि नागरिक मौलिक अधिकारबाट वञ्चित नहोस् भन्नका लागि व्यक्तिगत घटना समयमै दर्ता गराउन सबैमा आग्रह छ’ उनले भनिन् ‘व्यक्तिगत घटना दर्ता गराउन पालिकामा आउने सर्वसाधारण नागरिकलाई सहजतापूर्वक सेवा प्रदान गर्न कर्मचारी पनि गम्भीर हुनुहोला ।’

सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा राजविराजले आयोजना गरेको सो अन्तरक्रियामा एमआइएस अपरेटर रविन्द्र कुमार साहले व्यक्तिगत घटना दर्ताबारे सहजीकरण गरेका थिए । अन्तरक्रियामा पत्रकार विद्यानन्द राम, गैर सरकारी संस्थाका प्रतिनिधि राधा चौधरी लगायतका सहभागीहरु कर्मचारीहरुले व्यक्तिगत घटना दर्ताबारे जिज्ञासा राखेका थिए ।

अन्तरक्रियामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रप्रसाद यादव, विषयगत शाखाका प्रमुख तथा कर्मचारी, गैर सरकारी संस्थाका प्रतिनिधि, पत्रकार र अन्य सरोकारबालाहरुको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन भने सामाजिक सुरक्षा तथा पञ्जीकरणका फिल्ड सहायक शिवविलास यादवले गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस